मलेसियामा नेपाली श्रमिकको पारिश्रमिक वृद्धि

Thankot Times

थानकोट ।

नेपालीहरूको प्रमुख श्रम गन्तव्य मुलुक मलेसियाले न्यूनतम पारिश्रमिक वृद्धि गरेपछि आप्रवासी कामदार उत्साहित भएका छन्।

नेपालबाट मलेसिया कामदार लैजाने प्रक्रिया भने हाललाई रोकिएको हुँदा खुल्ने समयको प्रतीक्षा भइरहेको छ।  

मलेसियामा काम गर्ने श्रमिकको पारिश्रमिक प्रति महिना १५ सय (४७ हजार रूपैयाँ) बाट बढाएर १७ सय रिंगेट(करिब ५३ हजार रूपैयाँ)पुर्‍याइएको छ।  

मलेसियाली प्रधानमन्त्री तथा अर्थमन्त्री अनवर इब्राहिमले आगामी वर्ष सन् २०२५ को बजेट भाषणमार्फत कामदारको पारिश्रमिक बढाउने घोषणा गरेका हुन्। यो पारिश्रमिक आगामी फेब्रुअरीदेखि लागु हुनेछ।

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले पाउने न्यूनतम तलबमा सबैभन्दा बढी मलेसियामा काम गर्ने श्रमिकले पाउने भएका छन् । खाडीमा कतारले मात्रै एक हजार रियाल(३४ हजार रूपैयाँ) मात्रै निर्धारण गरेको छ। साउदी अरब, युएई, कुवेतलगायतका देशले न्यूनतम तलब तोकेका छैनन् । जसले गर्दा ती देशमा जाने श्रमिकको करारपत्र फेरबदल हुँदै आइरहेको छ।

मलेसियाको बजेटमा उल्लेख भएअनुसार त्यहाँको सरकारले तलब वृद्धि घोषणा गरेसँगै त्यहाँ रहेका नेपालीसहित विदेशी श्रमिक पनि लाभान्वित हुने भएका छन्। मलेसिया सरकारले आफ्ना नागरिक र आप्रवासी श्रमिकबीच न्यूनतम तलब समान रूपमा लागु गर्दै आइरहेको छ।

आर्थिक वर्ष २०७९/८० मा दुई लाख १९ हजार नेपाली मलेसिया गएका थिए। वैदेशिक रोजगारीमा सबैभन्दा बढी नेपाली मलेसिया गएका थिए। साथै मलेसियामा काम नपाएर बिचल्ली पर्नेहरूको संख्या बढ्दो थियो। उच्च लागत शुल्क तिरेर मलेसिया पुगेका आप्रवासी श्रमिकले उचित तलबसहितको रोजगारी नपाउने अवस्था भएपछि मलेसियाले कामदार ल्याउन रोकेको थियो । त्यसपछि मलेसिया जाने संख्या ह्वात्तै घटेको छ, नागरिक दैनिकमा खबर छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ