विद्यार्थी गुणीय चक्रको १८औं राष्ट्रिय सम्मेलन कार्तिक २४ बाट नैकापस्थित ब्राइट फ्यूचर माविमा हुने
थानकोट ।
विद्यार्थी गुणीय चक्रको १८औं राष्ट्रिय सम्मेलन चन्द्रागिरि नगरपालिका-१४ नैकापस्थित ब्राइट फ्यूचर माविमा आयोजना हुने भएको छ ।
क्वेष्ट नेपालको आयोजना एवं ब्राइट फ्यूचर माविको संयोजनमा कार्तिक २४ गतेबाट कार्तिक २६* गतेसम्म सम्मेलन हुन लागेको हो ।
सामाजिक, शिष्ट र अग्रगामी विद्यार्थी उत्पादन गर्ने उद्देश्यसहित सम्मेलन गर्न लागिएको ब्राइट फ्यूचर माविका अध्यक्ष तथा क्वेष्ट नेपालका उपाध्यक्ष मोहनकुमार कार्कीको भनाइ छ ।
सम्मेलनमा विद्यार्थी, पर्यवेक्षक, शिक्षक तथा शिक्षाविद् गरी देशभरबाट ८ सय जनाको सहभागिता रहने आयोजकको अनुमान छ ।
सम्मेलनमा प्यानल डिस्कसन, हाजिरी जवाफ, संरक्षण सम्बन्धी कार्यशाला, प्रतिवेदन प्रस्तुत, सांस्कृतिक अनुभव आदानप्रदान, कथा लेखन, तेक्वान्दो खेल प्रदर्शनी लगायतका कार्यक्रम गरिने क्वेष्ट नेपालका वरिष्ठ उपाध्यक्ष देवराज घिमिरेले जानकारी दिए ।
सम्मेलनमा नेपालको पूर्वदेखि पश्चिमसम्म विगत ६ महिनादेखी सञ्चालन भएको २६ वटा हब सम्मेलनबाट छानिएका विद्यार्थी प्रतिनिधि, प्रधानाध्यापक एवं शिक्षक प्रतिनिधिको सहभागिता रहनेछ ।
सो सम्मेलनमा विभिन्न देशबाट समेत पर्यवेक्षक उपस्थित हुने ब्राइट फ्यूचर माविका निर्देशक मोहित कार्कीले जानकारी दिए ।
सम्मेलनमा सहभागिताका लागि कार्तिक ७ गतेसम्मको दर्ता समयसीमा तोकिएको निर्देशक कार्कीको भनाइ छ ।
शनिबारसम्म ६० विद्यालयका ३५६ जना विद्यार्थी तथा प्रतिनिधिले सहभागिताका लागि नाउँ दर्ता गराएका छन् ।
करिब ८० वटा विद्यालयका विद्यार्थीले सो सम्मेलनमा भाग लिने अनुमान गरिएको उनले बताए । सहभागीहरूलाई उनीहरूको चाहना अनुसार होटल वा विभिन्न विद्यालयको होस्टलमा बस्ने व्यवस्था मिलाइनेछ ।
शनिबार ब्राइट फ्यूचर माविमा आयोजित सम्मेलन तयारी अन्तर्क्रिया कार्यक्रम बोल्दै सो विद्यालयका प्रधानाध्यापक दयाराम थापाले विद्यार्थीहरूमा गहन सिकाइको विकासका लागि सो सम्मेलन आयोजना हुन लागेको बताए ।
विद्यार्थी गुणीय चक्रको राष्ट्रिय सम्मेलन तेस्रो पटक काठमाडाैं जिल्लामा आयोजना हुन लागेको हो ।
यसअघि सो सम्मेलन ग्यालेक्सी स्कुल र एलआरआइ स्कुल आयोजना भएको थियो ।
पछिल्लो सम्मेलन गत मंसिरमा चितवनको साैराहास्थित स्मल हेवनमा सम्पन्न भएको थियो ।
विद्यार्थी गुणीय चक्र विश्वका २५ भन्दा बढी देशमा प्रयोगमा आएको शैक्षिक कार्यक्रम हो ।
नेपालमा सन् १९९० को दशकमा प्रोफेसर दिनेश चापागाँइको अग्रसरतामा पहिलोपटक विद्यार्थी गुणीय चक्रको सुरुवात भएको थियो । चापागाँइले हिमालय विद्यामन्दिर माविमा पहिलोपटक विद्यार्थी गुणीय चक्रको परीक्षण गरेका थिए । पछि सन् २००५ बाट विद्यार्थी गुणीय चक्र संस्थागत रूपमा अघि बढेको हो ।
नेपालमा हालसम्म विद्यार्थी गुणीय चक्रका दुई वटा अन्तराष्ट्रिय सम्मेलन सम्पन्न भएको शनिबार आयोजित कार्यक्रममा जानकारी दिइयो ।
विद्यार्थी गुणीय चक्रको १८औं राष्ट्रिय सम्मेलन सम्बन्धी अन्तर्किया कार्यक्रममा संघीय सांसद् कृष्णगोपाल श्रेष्ठ, बागमती प्रदेश सांसद्हरू केशव पोखरेल र रमा आलेमगर, चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ, वडाध्यक्षहरू हरिश्याम रानामगर, प्रल्हाद रिजाल, शिवकुमार महर्जन, नरेन्द्रराज श्रेष्ठ, श्रीकृष्ण खत्री, घनश्याम लुँइटेल लगायत जनप्रतिनिधिहरू, विद्यालयका अभिभावक, स्थानीय बुद्धिजिवी तथा समाजसेवी लगायतको समेत उपस्थिति रहेको थियो ।
सम्मेलनको बारेमा केही दिनमै पत्रकार सम्मेलन गरी जानकारी दिइने आयोजकको भनाइ छ ।
*यसअघि अन्यथा हुनपुगेकोमा सच्याइएकाे छ । – सम्पादक