बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने क्रम आजपनि जारी रहने

Thankot Times

थानकोट ।

देशैभरका बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका पोषण शाखा प्रमुख लीला विक्रम थापाले कात्तिक २ र ३ गते ५ वर्षमुनिका बालबालिकालाई लक्षित गरी कार्यक्रम गरिएको बताए ।

उनले सात सय ५३ स्थानीय तहमा यसको व्यवस्था रहेको जनाउँदै पायकपर्ने स्थान विद्यालय, वडा कार्यालयमा स्वस्थ्य स्वयंसेविकालाई परिचालन गरिएको बताए।

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत हरेक वर्ष ६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल तथा एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई जुकाको औषधि खुवाइने गरिएको छ।

उनले भने, ‘बालबालिकाको सर्वाङ्गीण विकासको लागि खोप र पोषण दुवै अपरिहार्य आवश्यक छ। ६ महिनादेखि ५ वर्ष मुनिका करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ र एकदेखि पाँच वर्ष मुनिका बालबालिकालाई १८ देखि १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य लिएका छौँ।’

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसकाबारेमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ।

चन्द्रागिरि नगरका सबै वडामा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन स्वास्थ्य स्वयंसेवीकाहरू परिचालन गरिएका छन् भने स्वास्थ्य चाैकी एवं शहरी स्वास्थ्य केन्द्रमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ ।

चन्द्रागिरि नगरपालिका स्वास्थ्य शाखाका अनुसार नगर क्षेत्रमा १० हजार ३ सय ७६ जना बालबालिकालाई भिटामिन ए तथा ९ हजार ५ सय २ जना बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य रहेको छ ।

तस्बिरः धनमाया महर्जन


Leave a Reply

Your email address will not be published. Required fields are marked *