सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका रवि लामिछानेको सांसद् पद अब के हुन्छ ?

Thankot Times

थानकोट ।

सहकारीको रकम अपचलन आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका नेता रवि लामिछाने पक्राउ परेपछि अब उनको सांसद पद के हुन्छ भन्ने प्रश्न उठेको छ।

नियम अनुसार पक्राउ परे पनि लामिछाने तत्काल सांसद पदबाट निलम्बन हुने छैनन्।

प्रहरीले सांसदलाई पक्राउ गर्दा त्यसको सूचना तत्काल सभामुख र संसद सचिवालयलाई दिनुपर्छ। संविधानको धारा १०३ को उपधारा ३ मा सांसद पक्राउको सूचना सभामुखलाई दिनुपर्ने व्यवस्था छ।

यस्तो सूचना प्राप्त भएपछि प्रतिनिधि सभा नियमावली अनुसार सभामुखले संसदमा जानकारी दिनुपर्छ। संसद नभएको अवस्थामा सूचना पाटीमा पक्राउ भएको सूचना प्रकाशित गराउनुपर्छ।

प्रतिनिधि सभा नियमावली अनुसार पक्राउ पर्दैमा अहिले नै लामिछानेको सेवासुविधा रोक्का हुने छैन। प्रहरीले उनी विरूद्ध तीन वर्षभन्दा बढी सजाय माग दाबी गर्दै अभियोग लगायो र उनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठायो भने त्यस्तो अवस्थामा मात्र उनको सेवासुविधा रोकिने छ। अर्थात्, लामिछानेले त्यसपछि सांसदको तलब-भत्ता पाउने छैनन्। उनले सांसदका रूपमा प्राप्त हुने अधिकार पनि प्रयोग गर्न पाउने छैनन्।

सांसद पक्राउ पर्दैमा वा उसलाई अभियोग लाग्दैमा पद जाँदैन। जिल्ला अदालतल कास्कीले दोषी ठहर गरेको अवस्थामा भने लामिछाने निलम्बनमा पर्नेछन्। उनले सफाइ पाए भने सांसदका रूपमा काममा फर्कन पाउँछन्।

लामिछानेले सहकारी अपचलनमा थोरै सजाय पाए र प्रतिनिधि सभाको कार्यकाल रहँदै थुनामुक्त भए भने उनले पुन: सांसदका रूपमा काम गर्न पाउँछन्।

प्रतिनिधि सभा नियमावलीको नियम २४८ को ५ मा सफाइ पाए वा थुनामुक्त भए निलम्बन फुकुवाको सूचना सभामुखले संसदमा दिनुपर्ने व्यवस्था छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *