नेपालबाट बाहिरियो मनसुन, हिउँदमा जाडो कम र वर्षा बढी हुने प्रक्षेपण

Thankot Times

थानकोट ।

यस वर्षको मनसुन नेपालका सबै भूभागबाट बाहिरिएको छ ।

असोज २० गते सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिएको मनसुन आज दशैंको टीकाको दिन कोशी प्रदेशबाट समेत बाहिरिएको हो ।

जल तथा मौसम विज्ञान विभागले आज बुलेटिन जारी गरी नेपालबाट मनसुन बाहिरिएको जानकारी दिएको छ ।

जुन, जुलाई, अगष्ट, सेप्टेम्बर महिनालाई मनसुन अवधि मानिन्छ ।

नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिएर अक्टुबर २ मा बाहिरिन्छ । तर यसवर्ष सरदर मितिभन्दा तीन दिन अघि अर्थात् जुन १० (जेठ २८ गते) मनसुन भित्रिएको थियो । र, मनसुन बहिर्गमनको सरदर मिति (अक्टुबर २) भन्दा झण्डै एक हप्तापछि मनसुन बाहिरिन सुरु गरेको थियो ।

यस वर्ष सरदर मितिभन्दा १० दिन ढिलो मनसुन बाहिरिएको छ । नेपालमा यो वर्ष १२४ दिनसम्म मनसुन रह्यो ।

पूर्वी वायु अर्थात् मनसुनी वायुलाई पश्चिमी वायुले प्रतिस्थापन गर्‍यो भने मनसुन बाहिरिएको भनिन्छ । पूर्वी नेपालबाट भित्रिने मनसुन पश्चिमबाट बाहिरिन सुरु गर्दछ ।

मनसुन बाहिरिने क्रममा भारतको मध्यप्रदेश, उत्तराखण्ड हुँदै नेपालको सुदूरपश्चिममा पश्चिमी वायु प्रवेश गर्दछ । मनसुन बाहिरिएपछि हिउँद अर्थात् जाडोयाम सुरु हुन्छ ।

यस वर्षको हिउँदमा जाडो कम र वर्षा बढी हुने प्रक्षेपण छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *