तिथि घटबढका कारण थानकोटमा पहिलोपल्ट उज्यालोमा भित्र्याइयो फूलपाती
थानकोट ।
बडा दशैंको साताैं दिन आज देशभर फूलपाती मनाइँदैछ ।
दशैं घर तथा कोतघरहरूमा फूलपाती भित्र्याउने क्रम अहिले जारी छ ।
हनुमानढोका दरबारको दसैंघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ। गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दसैंघरका पूजारीसहित मगर समुदायका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण समूदायका छ जनाले ल्याउने परम्परा रहिआएको छ ।
यता थानकोटमा पनि आज फूलपाती भित्र्याइएको छ ।
चन्द्रागिरि नगरपालिका-१ दहचोक इन्द्रस्थानस्थित कोत घरबाट मगर गुठीले हस्तान्तरण गरेको फूलपाती थानकोट गुठीका सदस्यले बिहीबार मध्यान्ह थानकोटस्थित कोतघरमा विधिपूर्वक भित्र्याइएको हो ।
यसअघि फूलपातीको दिन साँझ फूलपाती भित्र्याइँदै आइएकोमा यसपटक तिथि घटबढका कारण मध्यान्हमा फूलपाती भित्र्याइएको गुठीयारहरूले जानकारी दिए ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैं घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।
थानकोटमा फूलपाती भित्र्याउाने क्रममा चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी, चन्द्रागिरि वडा नंं ४ का वडाध्यक्ष एवं नगरप्रवक्ता कृष्णप्रसाद खड्गी, चन्द्रागिरि नगरसभा सदस्यहरू पृथ्वी लामा, कृष्णा गोपाली, राजकुमार नकर्मी लगायत गुठीयारहरू, बाजा खलका सदस्य तथा स्थानीयहरूको बाक्लो उपस्थिति रहेको थियो ।
गोरखाबाट ल्याइएको फूलपाती हनुमान ढोका पुर्याउनुअघि दहचोकस्थित कोतघरमा पुर्याउन पर्ने परम्परा छ । पछि सो फूलपाती दहचोकस्थित कोतघरबाट थानकोट ल्याइन्छ ।