क्वेस्ट नेपालको केन्द्रीय उपाध्यक्षमा नैकापस्थित ब्राइट फ्यूचर माविका मोहन कुमार कार्की निर्वाचित
थानकोट ।
क्वेस्ट नेपाल (क्वालिटी सर्कल्स इन एजुकेशन फर स्टुडेन्ट्स पर्सनालिटी डेभलपमेन्ट नेपाल) को १६औं वार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ ।
वर्ष २०२४-२७ का लागि नारद रिजालको अध्यक्षतामा कमिटि गठन गरिएको बताइएको छ ।
क्वेस्ट नेपालको वरिष्ठ उपाध्यक्ष मा देवराज घिमिरे निर्वाचित हुँदा उपाध्यक्षमा मोहनकुमार कार्की चयन भएका छन् । कार्की चन्द्रागिरि नगरपालिका नैकापस्थित ब्राइट फ्यूचर माविका अध्यक्ष हुन् ।
यसैगरी महासचिवमा रामबाबु अधिकारी चयन हुँदा सचिवमा रवी श्रेष्ठ निर्वाचित भएका छन् ।
यसैगरी कोषाध्यक्षमा जमुना महर्जन निर्वाचित भएकी छन् । कार्यकारी सदस्य पदमा क्रमश मीना महर्जन, प्रमिला सिंह, नारायण प्रसाद सापकोटा, सागर श्रेष्ठ, मिलन भण्डारी, मीना महर्जन र भोजराज सुवेदी चयन भएका हुन् ।
असोज १२ गते ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कुलमा संस्थाको १६औ वार्षिक साधारण सभा सम्पन्न भएको थियो ।
विद्यार्थीको गुणीय चक्र (एसक्यूसी) विद्यार्थीलाई सर्वगुण सम्पन्न बनाउने शैक्षिक कार्यक्रम हो । सन् १९९९ देखि देशका विभिन्न शैक्षिक संस्थामा यो भित्रिएको थियो भने सन् २००५ देखि हरेक वर्ष यसको राष्ट्रिय सम्मेलन हुँदै आएको छ ।
क्वेस्ट नेपाल विद्यार्थीको गुणीय चक्रको प्रचार र कार्यान्वयन गरी सामाजिक, व्यावहारिक र असल विद्यार्थी उत्पादनका लागि प्रशिक्षित गर्ने उद्देश्यका साथ स्थापना गरिएको एक स्वयंसेवी संस्था हो । हाल नेपालका २०० भन्दा बढी विद्यालयमा सहायक तथा मुख्य पाठ्यक्रमका रूपमा विद्यार्थीको गुणीय चक्रको प्रशिक्षण तथा पठनपाठन भइहरेको छ ।
विद्यार्थीको गुणीय चक्रको अवधारणा सन् १९६२ मा जापानी उद्योगमा वस्तु तथा सेवाको गुणस्तर अभिवृद्धि गर्न लागू गरिएको गुणीय चक्रको अवधारणाबाट प्रेरित भएको आयोजकले बताएको छ ।
हाल विश्वका २५ भन्दा बढी देशका विद्यालयमा यो प्रणाली लागू भएको क्वेस्ट नेपालले उल्लेख गरेको छ ।