चन्द्रागिरि टी-१० क्रिकेट च्याम्पियनसीपः उडान शैक्षिक केन्द्र र मैत्रीनगर क्रिकेट क्लब फाइनलमा
थानकोट ।
मैत्रीनगर क्रिकेट क्लब र उडान शैक्षिक केन्द्र चन्द्रागिरि नगरपालिका-०६ गुमालचोकीस्थित मदन भण्डारी खेल मैदानमा जारी प्रथम चन्द्रागिरि टी-१० क्रिकेट च्याम्पियनसीप प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
मंगलबार सम्पन्न प्रतियोगिताको दोश्रो सेमीफाइनल खेलमा उडान शैक्षिक केन्द्र स्टम्प जम्पर्सलाई २ विकेटले पराजित गर्दै उपाधि नजिक पुगेको हो । फाइनलमा उडानले मैत्री नगर क्रिकेट क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
यसअघि सोमबार सम्पन्न प्रतियोगिताको पहिलो सेमीफाइनलमा दहचोक-१ क्लबमाथि ५० रनको जित दर्ता गर्दै मैत्रीनगर उपाधि नजिक पुगिसकेको छ ।
प्रतियोगिताको फाइनल खेल भोलि बुधबार बिहान ११ बजेबाट सुरु हुने चन्द्रागिरि क्रिकेट एशोसियसनले जनाएको छ ।
फाइनल खेलको विजेताले ४० हजार रूपैयाँ, उपविजेताले २० हजार रूपैयाँ तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक संस्था चन्द्रागिरि क्रिकेट एशोसियसनका अध्यक्ष प्रजिवन प्रधानले जानकारी दिए ।
प्रतियोगिताको उत्कृष्ठ खेलाडी, ब्याट्सम्यान, बलरले ट्रफी पाउँदा फेयर प्ले र इमर्जिङ प्लेयरले समेत ट्रफी पाउनेछन् ।
प्रतियोगिताका लागि करिब ४ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।
फाइनल खेल भने २० ओभरको खेलाइने छ ।
लिग कम नटआउट फर्म्याटको प्रतियोगितामा विभिन्न १२ टोलीले सहभागिता जनाएका थिए ।