चन्द्रागिरि टी-१० क्रिकेट च्याम्पियनसीपः मैत्रीनगर क्रिकेट क्लब फाइनलमा

Thankot Times

थानकोट ।

मैत्रीनगर क्रिकेट क्लब चन्द्रागिरि नगरपालिका-०६ गुमालचोकीस्थित मदन भण्डारी खेल मैदानमा जारी प्रथम चन्द्रागिरि टी-१० क्रिकेट च्याम्पियनसीप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

सोमबार सम्पन्न प्रतियोगिताको पहिलो सेमीफाइनलमा दहचोक-१ क्लबमाथि ५० रनको जित दर्ता गर्दै मैत्रीनगर उपाधि नजिक पुगेको हो ।

सोमबार नै सम्पन्न लिग चरणको खेलमा थानकोट वारियर्समाथि स्टम्प जम्पर्स ३५ रनले विजयी भयो । जितसँगै जम्पर्स सेमीफाइनलमा प्रवेश गरेको छ ।

निरन्तरको वर्षाका कारण खेल हुन नसक्दा प्रतियोगिताका खेलहरूको पुनः तालिका बनाइएको चन्द्रागिरि क्रिकेट एशोसियसनले जनाएको छ । 

प्रतियोगिता अन्तर्गत मंगलबार पुष्पलाल स्पोर्ट्स क्लब र उडान शैक्षिक केन्द्रबीच प्रतिस्पर्धा हुनेछ । यो खेलको विजेताले सेमीफाइनलमा स्थान बनाउनेछ । 

फाइनल खेलको विजेताले ४० हजार रूपैयाँ, उपविजेताले २० हजार रूपैयाँ तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक संस्था चन्द्रागिरि क्रिकेट एशोसियसनका अध्यक्ष प्रजिवन प्रधानले जानकारी दिए ।

फाइनल खेल असोज १६ गते खेलाइने तालिका छ ।

यसैगरी हरेक खेलका म्यान अफ दि म्याचले ट्रफी पाउनेछन भने प्रतियोगिताको उत्कृष्ठ खेलाडी, ब्याट्सम्यान, बलरले ट्रफी पाउँदा फेयर प्ले र इमर्जिङ प्लेयरले समेत ट्रफी पाउनेछन् । प्रतियोगिताका लागि करिब ४ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

प्रतियोगिताको फाइनल खेल भने २० ओभरको खेलाइने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *