राष्ट्रिय शिक्षा दिवसका अवसरमा बलम्बु माविसहित १० विद्यालय पुरस्कृत

Thankot Times

थानकोट ।

राष्ट्रिय शिक्षा दिवसको अवसरमा बागमती प्रदेशका विभिन्न जिल्ला १० उत्कृष्ट विद्यालयलाई पुरस्कृत गरिएको छ।

पुरस्कृत हुने विद्यालयहरूमा पाँचवटा सामुदायिक र पाँचवटा संस्थागत रहेका छन्।

शिक्षा विकास निर्देशनालय बागमती प्रदेशले छनाेट गरेका सामुदायिकतर्फ भक्तपुरको मेघा माध्यमिक विद्यालय, तेखापुखु, काठमाडौंको चन्द्रागिरि नगरपालिकाको बलम्बु माध्यमिक विद्यालय, नुवाकोटको विदुर नगरपालिकाको पृथ्वी माध्यमिक विद्यालय, काठमाडौं बालाजुको तरुण माध्यमिक विद्यालय र काठमाडौंकै श्रम राष्ट्रिय माध्यमिक विद्यालय कुमारीगाल रहेका छन्।

यसैगरी संस्थागततर्फ ह्विज किड्स इन्टरनेसनल स्कुल बालुवाटार, रिलायन्स इन्टरनेसनल एकेडेमी बुढानीलकण्ठ, गोकर्णेश्वर लाइट एकेडेमी गोकर्णेश्वर, शांकरी स्कुल छाउनी काठमाडौं र माउन्ट ग्लोरी इंग्लिस बोर्डिङ हाइस्कुल रहेका छन् । उत्कृष्ट भएका सामुदायिक र संस्थागत विद्यालयहरूलाई क्रमशः १ लाख, ८० हजार, ७० हजार, ६० हजार र ५० हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले पछिल्लो समयमा सामुदायिक विद्यालयहरूमा शैक्षिक गतिविधिमा सुधार भइरहेको बताएको नयाँ पत्रिकामा खबर छ। उनले शिक्षा क्षेत्रलाई राम्रो बनाउन सके मात्रै राम्रो नागरिक उत्पादन गर्न सकिनेतर्फ सबैको ध्यान जानुपर्ने उल्लेख गरे।

प्रदेश सरकारले शिक्षा क्षेत्रलाई महत्त्व दिइरहेको उनको भनाइ थियो। उनले सामुदायिक विद्यालयहरूलाई उत्कृष्ट बनाउन संघ, प्रदेश र स्थानीय तीनै तहको सरकार लाग्नुपर्नेमा जोड दिए। विद्यार्थीको अवस्था सुधान गर्न अभिभावकलाई पनि सुधार्न जरुरी रहेको पनि मुख्यमन्त्री लामाको भनाइ थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *