तेस्रो मातातिर्थ गोल्डकपः असोज ४ गतेसम्म टोली दर्ता गर्न सकिने
थानकोट ।
चन्द्रागिरि नगरपालिका-०६ मातातिर्थ बालागाउँमा सञ्चालन हुने तेस्रो मातातिर्थ गोल्डकप फुटबल प्रतियोगिताको तयारी तिव्र पारिएको छ ।
मातातिर्थ संरक्षण तथा विकास संस्थाको आयोजनामा सञ्चालन हुने प्रतियोगिता असोज ७ गतेबाट सुरु भइ असोज २३ गते समापन गर्ने तालिका रहेको छ।
प्रतियोगितामा सहभागिताका लागि असोज ४ गतेसम्म टोली दर्ता गर्न सकिने आयोजकको भनाइ छ ।
प्रतियोगिताको विजेताले नगद ४ लाख रूपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने मातातिर्थ संरक्षण तथा विकास संस्थाले जनाएको छ ।
दोश्रो हुने टोलीले २ लाख ५० हजार रूपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । यस्तै तेस्रो स्थान प्राप्त गर्ने टोलीले १ लाख ५० हजार रूपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्दा उत्कृष्ठ टोलीले २० हजार प्रोत्साहन रकम पाउनेछ ।
व्यक्तिगत विधा तर्फ सर्वोत्कृष्ठ खेलाडी, सर्वाधिक गोल कर्ता, उत्कृष्ठ डिफेन्डर र उत्कृष्ठ गोल रक्षकले नगद १० हजार रूपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् ।
टोली दर्ताका लागि २० हजार रूपैयाँ बुझाउनु पर्नेछ ।
हालसम्म करिब १ दर्जन टोलीले प्रतियोगितामा सहभागिताका लागि रजिष्ट्रेशन गरिसकेका छन् ।
गतवर्ष सञ्चालित दोश्रो मातातीर्थ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नक्सालस्थित स्टार ११ को चुनाैती ४-० ले पन्छाउँदै तीनथानाको कुर्दन फुटबल एकेडेमीले जितेको थियो ।
प्रतियोगिताको पहिलो संस्करण किसिपिडी युथ क्लबले जितेको थियो ।