बिहीबारदेखि शनिबारसम्म अति भारी वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह

Thankot Times

थानकोट ।

पश्चिम नेपालमा केही दिन धेरै भारी वर्षा हुने भएको छ । मनसुन थप सक्रिय हुँदा धेरै भारी वर्षाको सम्भावना रहेको हो ।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहे पनि हाल भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यूनचापीय प्रणाली थप विकसित भएर उत्तर–पश्चिमतर्फ (नेपाल नजिक) सर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

जसका कारण धेरै भारी वर्षाको सम्भावना रहेको हो ।

“यो प्रणालीको प्रभावले २७ गते साँझदेखि २९ गते बिहानसम्म विशेष गरी नेपालको पश्चिमी क्षेत्रमा मनसुन सक्रिय भई वर्षा हुने सम्भावना भएकाले सतर्कताको लागि आग्रह गरिन्छ,” विभागले भनेको छ ।

बिहीबार साँझदेखि शनिबार बिहानसम्म गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रहनेछ । बाँकी प्रदेशहरूमा आंशिकदेखि साधारणतया बदली रहनेछ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चटयाङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी तथा बाँकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको विभागले बताएकाे छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *