मुग्लिन-नारायणगढ सडक खण्डका विभिन्न स्थानमा पाँच वटा सवारी साधन ठोकिँदा तीनजना घाइते
थानकोट ।
नारायणगढ-मुग्लिन सडकखण्डमा बस र ट्रक आइतबार बिहान ठक्कर खाँदा तीनजना घाइते भएका छन् ।
भरतपुर महानगरपालिका-२९ सिमलतालमा एआर १ टी ६३७२ नम्बरको भारतीय बसले ग २ ख ११०८ नम्बरको ट्रकलाई ठक्कर दिँदा तीनजना घाइते भएका हुन् ।
मुग्लिनबाट नारायणगढ आउँदै गरेको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बस ठक्कर खाएको हो ।
ट्रकमा सवार तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए । घाइते सबैको अवस्था मध्यम छ ।
उनका अनुसार बसका चालक फरार रहेको र खोजी जारी रहेको छ ।
यसैगरी भरतपुर महानगरपालिका-२९ जुगेडीमा मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको बा ११ च ८२६२ नम्बरको सफारीले रोकिराखेको बागमती प्रदेश०३-००१ च १७७० नम्बरको जिप र ग २ च ४४३६ नम्बरको जिपलाई ठक्कर दिएको हो ।
ठक्करबाट तीनवटै सवारीसाधनमा क्षति पुगेको छ ।