चन्द्रागिरि नगरपालिकाले दियो सामुदायिक विद्यालयलाई तीनवटा बस
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रका सामुदायिक विद्यालयहरुको सुदृढीकरण तथा विद्यार्थीहरुको आवतजावतको सहजीकरणका लागि तीन वटा विद्यालय बस हस्तान्तरण गरेको छ।
आइतबार एक कार्यक्रमका बीच नगरप्रमुख घनश्याम गिरीले चन्द्रागिरि नगरपालिका वडा नंं २ मा रहेका तीनवटा विद्यालयलाई बसको साँचो हस्तान्तर गरेका हुन् ।
नगरपालिकाबाट विद्यालय बस प्राप्त गर्ने विद्यालयहरूमा नागढुङ्गाको भीम मा.वि, चिसापानीको चण्डी भैरव मा.वि र बाँडभञ्ज्याङको चण्डिका देवी मा.वि. रहेका छन् ।
चन्द्रागिरि नगरपालिकाले यसै शैक्षिक वर्षमा वडा नं. १३ स्थित कंकाली माविका लागि समेत विद्यालय बस उपलब्ध गराउने बताइएको छ ।
चालु आर्थिक वर्षमा थप ४ वटा विद्यालय बस खरिद गरि अन्य सामुदायिक विद्यालयहरुलाई उपलब्ध गराउँदै नगरपालिका क्षेत्रका सबै सामुदायिक विद्यालयहरुलाई बस उपलब्ध गराउने योजना रहेको नगर प्रमुख गिरीको भनाइ छ ।
चन्द्रागिरि नगर सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न तत्पर रहेको बताउनुहुँदै नगर प्रमुख गिरीले नगरका सबै विद्यालयको भवनहरू स्तरिकरण भइसकेकोले अब शैक्षिक गुणस्तर वृद्धि गर्न बालविकास कक्षा, सबै कक्षामा स्मार्ट बोर्डसहित अध्ययन अध्यापन सामाग्री व्यवस्थापनका लागि नगरले तालुकदार निकायसँग सहकार्य समेत गरिरहेको बताउनुभयो ।
दक्षिण कोरिया सरकारको सहयोगमा बलम्बुस्थित बलम्बु मा.वि मा प्राविधिक शिक्षालयको भवन निर्माण अन्तिम चरणमा रहेको जानकारी दिनुहुँदै नगर प्रमुख गिरीले नगरका अन्य विद्यालयहरूमा समेत प्राविधिक शिक्षालय निर्माण गर्नेबारेमा सहजीकरणका लागि छलफल भइरहेको बताउनुभयो ।
चन्द्रागिरि नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा नैकापस्थित कंकाली मा.वि का लागि १ थान विद्यालय बस उपलब्ध गराइसकेको छ।
चन्द्रागिरि नगरमा २४ वटा सामुदायिक विद्यालय संचालनमा छन् ।