बलम्बुमा किशोरीमाथि जबरजस्ती करणी अभियोगमा मध्यरातमा समातिए एक युवा
थानकोट ।
१६ वर्षीय किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा २९ वर्षीय युवालाई प्रहरी प्रभाग बलम्बुले नियन्त्रणमा लिएको छ ।
प्रहरी प्रभाग बलम्बुका प्रमुख प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यका अनुसार साउन ३२ गते बेलुकी करिब ८ः३० बजे चन्द्रागिरि नगरपालिका वडा नं. १२ मा बलम्बुमा १६ वर्षीया किशोरी बेवारिसे अवस्थामा फेला परेपछि उनको उद्वार गरी माईती नेपाल शाखा कार्यालय नागढुङ्गामा संरक्षणका लगि पठाएको थियो।
ती बालिकासँग सोधपुछ गर्दा अपरिचित व्यक्तिले आफुलाई ललाई फकाई गरी साउन ३० गते रातिदेखि बलम्बुस्थित डब्लुटोलस्थित एक घरको कोठामा लगि जबरजस्ती करणी गरेको र कोठाबाट समेत बाहिर आउन नदिई बन्धक अवस्थामा राखेको बयान दिएको प्रहरी निरिक्षक आचार्यको भनाई छ ।
तत्पश्चात बलम्बु प्रभाग प्रमुख प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यको कमाण्डमा खटिएको प्रहरी टोलीले बालिकाले दिएको हुलिया विवरण अनुसारका युवाको खोजतलास गर्दै जाँदा डम्बुटोलमै एक घरमा भाडामा बस्दै आएका २९ वर्षीय युवा हिजो शनिबार राति ११ बजे पक्राउ परेका हुन् ।
पिडित बालिकाले दिएको बयानका आधारमा तनहुँ घर भएका ती युवामाथि प्रहरी वृत्त थानकोटबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रभाग बलम्बुले जनाएको छ । पिडित बालिका माइती नेपाल नागढुङ्गा शाखाको संरक्षणमा रहेको प्रहरीको भनाइ छ ।