प्राथमिक अस्पताल थानकोटमा हरेक आइतबार र बिहीबार आँखा रोग विशेषज्ञ सेवा उपलब्ध हुने
थानकोट ।
थानकोटस्थित नगर प्राथमिक अस्पतालमा अब हरेक आइतबार र बिहीबार आँखा रोग विशेषज्ञ सेवा उपलब्ध हुने भएको छ ।
दृष्टी आई केयर सेन्टरको प्राविधिक सहयोगमा सातमा दुई दिन सो सेवा सुरु हुन लागेको हो ।
यसअघि सो अस्पतालमा मुटु रोग, स्त्री रोग र रेडियोलोजी लगायतका विशिष्टिकृत सेवा संचालन हुँदै आएको छ ।
नगर अस्पतालमा आँखा रोग विशेषज्ञ सेवा सञ्चालन गर्नका लागि असार ३० गते नगरप्रमुख घनश्याम गिरी र दृष्टि आई केयरका निर्देशक डा. भाइराजा श्रेष्ठबीच समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
सातमा दुई दिन उपलब्ध हुने सो सेवा बिहान १० बजेबाट अपरान्ह ३ बजेसम्म जारी रहने अस्पतालबाट जारी विज्ञप्तीमा उल्लेख छ ।
चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, वडा नं. ४ का वडाध्यक्ष तथा नगरप्रवक्ता कृष्ण प्रसाद खड्गी, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल, नगरको स्वास्थ्य शाखाका कर्मचारी लगायतको उपस्थतिमा आज बिहीबार नगर अस्पतालमा आँखा रोग विशेषज्ञ सेवा उद्घाटन गरिएको अस्पताल प्रशासनले जनाएको छ।