स्वास्थ्य मन्त्री प्रदीप पाैडेल र चन्द्रागिरि नगरका प्रवक्ताबीचको भेटमा के कुरा भयो ?
थानकोट ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पाैडेल र चन्द्रागिरि नगरपालिकाका प्रवक्ता एवं वडाध्यक्ष कृष्णप्रसाद खड्गीबीच भेट वार्ता भएको छ ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री पाैडेलसँग प्रवक्ता खड्गीले भेट गर्नुभएको हो ।
सो क्रममा मन्त्री पाैडेलले चन्द्रागिरि नगरबाट स्वास्थ्य क्षेत्रमा भएका गतिविधिहरूको बारेमा जिज्ञासा राख्नुभएको बताइएको छ ।
भेटका अवसरमा प्रवक्ता खड्गीले चन्द्रागिरि नगरपालिकामा निर्माण भइरहेको नगर अस्पताल तथा जर्मन विकास बैंकको सहयोगमा निर्माण भइरहेको स्त्री रोग तथा प्रसुती अस्पतालका विषयमा जानकारी गराउनुभएको बताइएको छ ।
केएफडब्लु, नेपाल सरकार र परोपकार प्रसुति अस्पतालबीच करिब एक अर्बको बजेट लागतमा परोपकार प्रसुति अस्पताल निर्माणको चरणमा रहेको छ ।
चन्द्रागिरि नगरपालिका वडा नं. ४ स्थित नगर प्राथमिक अस्पताल हातामा करिब २० करोड रुपैयाँ लागतमा १५ शैयाको अस्पताल भवन निर्माण भइरहेको छ । हाल १५ शैयाको अस्पतालको नयाँ भवन निर्माण सम्पन्न भएपछि कूल ३० शैयाको हुनेछ ।