चन्द्रागिरि नगरका ५० जना शिक्षकहरू भक्तपुरको सामुदायिक विद्यालय भ्रमणमा
थानकोट ।
चन्द्रागिरि नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख सुजनराज खनालको नेतृत्वमा चन्द्रागिरिका विभिन्न स्कूलका प्रअ तथा शिक्षकहरूको एक प्रतिनिधिमण्डलले अध्ययन अवलोकन भ्रमण गरेर असल अभ्यास आदानप्रदान गरेको छ ।
सो अवसरमा वागीश्वरी स्कूलका प्रअ कृष्णप्रसाद कर्माचार्यले विद्यार्थीको बढ्दो चापअनुसार पर्याप्त शिक्षक दरबन्दी नहुँदा निजी स्रोतबाट शिक्षक व्यवस्थापन गरी सक्दो सस्तोमा स्तरीय शिक्षा प्रदान गर्दै आएको बताउनुभयो ।
स्थानीय जनताको अगुवाइमा विद्यालय स्थापना भएको इतिहास बताउँदै उहाँले हाल पूर्व प्राविदेखि कक्षा १२ सम्ममा चार हजार तीन सय बढी विद्यार्थी अध्ययनरत रहेको बताउनुभयो ।
हरेक विद्यार्थीको कमजोरीअनुसारको अतिरिक्त उपचार कक्षाका कारण बीएलई, एसईई र कक्षा १२ को नतिजा उत्साहजनक हुँदै आएको जानकारी दिँदै २०८० को एसईईमा ९० प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीर्ण भएको बताउनुभयो ।
विद्यालयका प्रअदेखि कार्यालय सहयोगीसम्म सबैले आफ्ना सन्तान आफ्नै स्कूलमा पढाउनुपर्ने नैतिक बन्धनको प्रावधान राखेपछि स्थानीय जनताको स्कूलप्रति विश्वास बढेको र स्कूलको नतिजा पनि उत्साहप्रद भइरहेको जानकारी दिँदै उहाँले हरेक वर्ष वागीश्वरी स्कूलको पनि विभिन्न स्कूलमा अध्ययन भ्रमण गरिरहेको बताउनुभयो ।
छलफल कार्यक्रममा चन्द्रागिरि नगरभित्रका स्कूलहरूमा भइरहेका असल अभ्यासहरूको जानकारी दिँदै उहाँले चन्द्रागिरिमा घुम्ती विद्यालयको व्यवस्था गरेको, शिक्षक प्रतिभाको डवली सञ्चालन गरेको, बालबालिकासँग मेयर कार्यक्रम गरिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा वागीश्वरी स्कूल कक्षा ११–१२ का संयोजक ज्ञानसागर प्रजापतिले भक्तपुर नगरमा एनजीओ र आइएनजीओलाई नपाको अनुमतिबिना स्कूलमा कुनै कार्यक्रम गर्न नदिएको बताउनुभयो ।
कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले पनि वागीश्वरी स्कूलले गर्दै आएको असल अभ्यासबारे जानकारी दिनुभएको थियो ।
चन्द्रागिरिका विभिन्न ८ वटा मा.वि.का ५० जना शिक्षकहरूको उक्त प्रतिनिधिमण्डल भक्तपुरको च्यामासिंहस्थित वागीश्वरी स्कूल पुगेको थियो ।