१० दिनदेखि नागढुङ्गा सुरुङ मार्ग निर्माणमा अवरोध, यस्ता छन स्थानीयले अघि सारेका माग
थानकोट ।
राष्ट्रिय गाैरवको परियोजना नागढुङ्गा सुरुङ मार्गको निर्माणमा पुनः अवरोध उत्पन्न भएको छ ।
सुरुङ मार्गको मुख्य सुरुङ खन्ने काम सम्पन्न भइसकेपनि फ्लाइओभर, पहुँच मार्ग लगायतका संरचनाको निर्माण तिव्र गतिमा अघि बढिरहेको सन्दर्भमा पछिल्लो १० दिनदेखी फ्लाइओभर निर्माणस्थलमा काममा अवरोध उत्पन्न भएको छ ।
आयोजना प्रमुख नवीनमान श्रेष्ठका अनुसार स्थानीयले मुआब्जा, फ्लाइओभर भएकै स्थानमा जेब्रा क्रसिङ, घर अगाडी बाटो चाहिने लगायतका माग राख्दै असार १३ गतेबाट फ्लाइओभरको कार्यमा अवरोध गरेपछि काम रोकिएको हो ।
यद्यपी आयोजनाले स्थानीयले भनेकै स्थानमा जेब्रा क्रसिङ राख्न नसकिने जवाफ यसअघि नै दिइसकेको बताएको छ ।
स्थानीयले भने फ्लाइओभरको सुरुको प्वाइन्टमा नै जेब्रा क्रसिङ चाहिने माग राखेका छन् । यसैगरी स्थानीयले तोकिएको भन्दा धेरै जग्गा सुरुङ मार्ग आयोजनाले चर्चिएको भन्दै सो जग्गाको समेत मुआब्जा माग गरेका छन् । फ्लाइओभरको कार्य करिब ७० प्रतिशत सम्पन्न भएको आयोजनाको दाबी छ बीजमाण्डूमा खबर छ ।
आयोजनाले स्थानीयका माग लगायतका विषयमा स्थानीय जनप्रतिनिधिहरूसँग निरन्तर छलफल भइरहेको जनाएको छ।
यसअघि मुख्य सुरुङको ब्रेक-थ्रु हुनुअघि चन्द्रागिरि नगरपालिका वडा नं. १ र २ का स्थानीयले अवरोध गरेपछि फागुन ६ गतदेखि सुरुङ निर्माणलगायत आयोजनाको सबै काम करिब १ महिना रोकिएको थियो ।