शिशुको जन्मदर्ता हुने बित्तिकै चन्द्रागिरि नगरपालिकाले ५ हजार रूपैयाँको मुद्दती खाता उपहार दिने
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रमा जन्मिएका बालबालिकाहरूको उन्नयनका लागि ५ हजार रूपैयाँको मुद्दती खाता खोलिदिने भएको छ ।
गत साउन १ गतेपछि जन्मिएका नगर क्षेत्रमा स्थायी बसोबास गर्ने अभिभावकहरूका बालबालिकाका लागि चन्द्रागिरि नगरपालिकाले सो रकम थानकोटमा शाखा रहेको एन आइ सि एसिया बैंकमा खाता खोलि एकमुष्ट जम्मा गरिदिने भएको हो ।
सो सम्बन्धी दुई पक्षीय सम्झाैता आइतबार चन्द्रागिरि नगरपालिकाको कार्यालयमा सम्पन्न भएको छ ।
सो सम्झाैतामा चन्द्रागिरि नगरपालिका र एन आइ सि एसिया बैंकबीच सम्झाैता भएको चन्द्रागिरि नगरका प्रवक्ता कृष्णप्रसाद खड्गीले जानकारी दिनुभयो । सम्झौता अनुसार शून्य मौज्दातमा खाता खोली उच्च ब्याजदर उपलब्ध गराउन सो बैंकले प्रस्ताव प्रस्ताव गरेको बताइएको छ।
चन्द्रागिरि नगरपालिका निजी उद्यम प्रवर्द्धन, आर्थिक सहायता तथा अनुदान संचालन कार्यविधि २०७८ अनुसार बालबालिकाहरू १८ वर्ष पूरा भएपश्चात आर्थिक सामाजिक सुरक्षाका लागि उक्त कार्यक्रम लागु गर्न लागिएको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिनुभयो ।
द्विपक्षीय सम्झाैतामा नगरपालिकाको तर्फबाट नगर प्रमुख घनश्याम गिरी र बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुनराज खनियाले हस्ताक्षर गर्नु भएको हो ।
कार्यक्रममा बोल्नुहुँदै नगरप्रमुख गिरीले चन्द्रागिरि नगरपालिकामा जन्म लिने बालबालिकाहरु १८ वर्ष पार गर्दैगर्दा उच्च शिक्षा हासिल गर्न अथवा कुनै व्यवसाय संचालन गर्न नगरपालिकाले प्रदान गरेको यस कोषले निकै सहयोग गर्ने विचार व्यक्त गर्नुभयो ।
नगरप्रमुख गिरीले नगरपालिकाले प्रदान गरेको रकममा अभिभावकहरुले आफ्नो सन्तानको खातामा रकम थप गरि भविष्य सुनिश्चित गर्न आग्रह पनि गर्नुभयो।
२०८० साउन १ गते यता चन्द्रागिरि नगरपालिकामा ८० जना बालबालिकाको जन्म दर्ता भए बमोजीम उनीहरूको बैंक खाता खोलि रकम बचतको प्रकृया सुरु हुने नगरप्रवक्ता खड्गीको भनाइ छ ।
उहाँका अनुसार बैंक खाता खोल्न सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र अनिवार्य छ ।
अहिले विभिन्न उत्सवका नाममा खर्च गर्ने होडबाजी छ, ‘कम्तीमा बालबालिकाकै खाता भयो भने बचत गरिदिउँ भन्ने अभिभावकको मनमा समेत पक्कै पर्छ’। यसले भविष्यमा आर्थिक अवस्था बलियो बनाउँछ, उच्च शिक्षाका लागि सहज वातावरण बनाउनेछ, उहाँले भन्नुभयो ।