काठमाडौंदेखि सगरमाथा चुचुरोसम्मको पैदलयात्रा गरेका राजेशले सुनाए रिब्सका विद्यार्थीलाई यात्रा अनुभव

Thankot Times

थानकोट । 

संघीय राजधानी काठमाडौँदेखि विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोसम्म पैदल यात्रा गरेका आरोही राजेश लामाले सो यात्राका बारेमा स्कुले विद्यार्थीहरूसँग अनुभव आदान प्रदान गरेका छन् ।

गत बिहीबार चन्द्रागिरि नगरपालिकास्थित एक विद्यालयका विद्यार्थीहरू माझ उनले कक्षा कोठामै पुगेर सो अनुभव बाँढेका हुन् ।

काठमाडाैंबाट हिँडेको ५७औँ दिनमा लामाले सगरमाथा आरोहण गरेका थिए ।

गत अप्रिल १ तारिखका दिन काठमाडौँदेखि पैदलयात्रा सुरु गरेका उनले चार सय ३२ दशमलव ६ किलोमिटर दुरीको यात्रासँगै सगरमाथाको सफलतापूर्वक आरोहण गरेका थिए । 

चन्द्रागिरि नगरपालिका-०५ स्थित रिब्स माविका विद्यार्थीहरूमाझ सर्वोच्च शिखर आरोहणका अनुभव सुनाउँदै लामाले दृढ सङ्कल्प र साहसिक मनोभावका कारण यात्रा सम्भव भएको बताए ।

इच्छा शक्ति, धैर्यता र अठोट भए जीवनमा महत्वपूर्ण उपलब्धि हासिल गर्नसक्छ भन्ने उदाहरण काठमाडौँदेखि सगरमाथा शिखरसम्मको यात्रा भएको उनले उल्लेख गरे । आगामी दिनमा नेपालको साहसिक गतिविधिमा सक्रिय हुने उनको भनाइ छ ।

काठमाडौँको सानेपाबाट सगरमाथा यात्रा सुरु गरेका ललितपुर निवासी लामा १५ दिनमा लुक्ला र २४ दिनमा सगरमाथा आधार शिविर पुगेका थिए । 

मे २० तारिखका दिन उनले सगरमाथा आरोहण गरेका थिए ।

पर्यटन क्षेत्रमा दशकभन्दा बढी अनुभव भएका लामा पर्वतारोहण व्यावसायिक पथ प्रदर्शक हुन् । ‘द नर्थफेस’ नेपालले लामालाई सगरमाथा आरोहणमा आवश्यक सहयोग गरेको थियो ।

लामाले विद्यायलमै आएर सुनाएको यात्रा अनुभवले बाटोमा भोगेका अविस्मरणीय क्षण, काम गर्न चाहिने इच्छा शक्ति, धैर्यता, अठोट एवं साहसिक मनोभाव जागृत भएको रिब्स माविका विद्यार्थीहरूले बताए । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *