चन्द्रागिरि-चितवन द्रुत मार्गः दूरी मोटामोटी १०० किलोमिटर !

Thankot Times

थानकोट ।

चन्द्रागिरिदेखि चित्लाङ, पालुङ हुँदै चितवन जोड्ने वैकल्पिक सडक बनाउने कुरा आगामी वर्षको बजेटमा परेपछि चितवन र चितवन हुँदै पश्चिम नेपालको यात्रा गर्नेहरूमा उत्सुकता र चासो बढेको छ।

अर्थमन्त्री जनार्दन शर्माले आइतवार प्रतिनिधि सभामा पेश गरेको बजेटमा चितवन जोड्ने वैकल्पिक सडक र वैकल्पिक रुटले चर्चा पाएको छ । ‘नेपालीको सपना : परिवर्तनकारी पूर्वाधार योजना’ शीर्षकको २१३ नम्बर बुँदामा काठमाडौं– चितवन द्रुतमार्ग बनाउने कुरा गरिएको छ ।

बजेटमा दाबी गरिएअनुसार यो द्रुतमार्गबाट काठमाडौं–चितवको दूरी एक घण्टामा सीमित हुनेछ ।

‘काठमाडौंदेखि चितवनको यात्रा एक घण्टामा गर्नेगरी चन्द्रागिरी–चित्लाङ–पालुङ–चितवन द्रुतमार्ग पहिलो चरणमा निर्माण गर्ने र चितवन–रामपुर बुटवल, चितवन– रामपुर–पोखरा द्रुतमार्ग निजी क्षेत्रको लगानीमा निर्माण गर्न लगानी बोर्ड नेपालमार्फत प्रक्रिया अगाडि बढाइने छ । यसबाट काठमाडौंदेखि बुटवल र काठमाडौंदेखि पोखरासम्मको यात्रा अवधि उल्लेख्य मात्रामा छोटिने छ,’ बजेटको बुँदा नम्बर २१३ मा उल्लेख छ ।

 

राजधानी काठमाडौं उपत्यकालाई तराईसँग जोड्ने लाइफलाइन रहेको दशकौं पुरानो राजमार्ग अहिले साँघुरो भइसकेको छ । राजा महेन्द्रको पालमा बनेको राजमार्ग अहिले बढेको सवारी चापका कारण अत्यन्त साँघुरो र व्यस्त बनेको छ । राजधानीको लाइफलाइन बनेको राजमार्गको काठमाडौं जोड्ने बिन्दु (नागढुंगा खण्ड) ‘बोटल नेक’ जस्तो छ ।

पूर्वाधार विज्ञ इञ्जिनियर रामबहादुर घिमिरे बजेटमा आएको काठमाडौं–चितवन वैकल्पिक सडक प्राविधिक हिसाबले सम्भाव्य रहेको बताउँछन् । केही ठाउँमा साना र केही मझौला टनेलसहित द्रुतमार्ग बनाउन सकिने उनले बताएको लोकान्तर डटकममा सुशील पन्तले लेखेका छन् ।

‘काठमाडौंको चन्द्रागिरीबाट मकवानपुरको थाहा नगरपालिका हुँदै बाटो लैजाने विकल्प उपयुक्त छ, चन्द्रागिरी पहाडबाट सानो टनेट गोगने निकालेर कैलाश गाउँपालिकाको क्षेत्र हुँदै राक्सिराङको बाटो मनहरि लैजान सकिन्छ,’ नेदरल्यान्ड्सको इरास्मस युनिभर्सिटीका फेलो घिमिरेले भने, ‘भित्री मधेशबाट मनहरिको काँगडा हुँदै भण्डारा निकाल्न पनि सकिन्छ ।’

इञ्जिनियर घिमिरे चन्द्रागिरीबाट मनहरिको दूरी मोटामोटी ६८ किलोमिटर तथा भण्डारा १०० किलोमिटर हुन सक्ने बताउँछन् । काठमाडौंबाट मुग्लिन हुँदै चितवन १ सय ४६ किलोमिटर छ । बजेटमा प्रस्तावित बाटो बनेमा काठमाडौंलाई पश्चिम नेपाल जोड्ने बाटो केही छोटो पनि हुनेछ ।

बुटवल, नारायणगढ सडक खण्ड ४ लेन बन्दै गरेको अवस्थामा चितवन जोड्ने द्रुतमार्ग बनेमा काठमाडौंदेखि बुटवल र लुम्बिनी अन्तराष्ट्रिय विमानस्थलको सडक दूरी पनि ५ घण्टामा झर्नेछ ।

पूर्वाधार विज्ञ घिमिरे प्रस्तावित बाटो बनेमा मकवानपुर र चितवनमा नयाँ बस्ती बन्ने विश्वास व्यक्त गर्छन् । ‘काठमाडौं चितवन सडक बनेमा गोगने, कालिकाटार, कोराक र मनहरिको उत्तरतिर नयाँ बस्तीको विकास र शहरीकरण हुन सक्छ,’ यो क्षेत्रमा पूर्वाधार विज्ञको रूपमा काम गरिसकेका घिमिरेले भने, ‘यसले तराइमा जाने माइग्रेसनलाई पनि केही हदसम्म कन्ट्रोल गर्न सकिन्छ ।’

अहिलेसम्म सम्भाव्यता अध्ययन भइनसकेको भएपनि थाहा नगरपालिका, कैलाश गाउँपालिका, राक्सिराङ र राप्ती गाउँपालिकाको भूभागबाट सडक बन्न सक्छ । चित्लाङ, र गोगनेमा साना खालका सुरुङ आवश्यक पर्ने उनले बताए । अब बन्ने सडकमा पहाड घुमाउनुभन्दा सुरुङ बनाउनु उपयुक्त हुने उनको राय छ । ‘सडकको क्षेत्रमा नागढुंगा पहिलो सुरुङ भए पनि जलविद्युतको विकासमा धेरै सुरुङ खनिएका छन्, त्यो जनशक्ति र अनुभवलाई यता पनि प्रयोग गर्न सकिन्छ,’ घिमिरेले भने ।

बजेट वक्तव्यमा निर्माण शुरू भइहाल्ने खालको भाषा प्रयोग भए पनि यो आयोजना बन्नेमा शंका व्यक्त गर्नेहरू पनि छन् । विगतमा पनि बजेटमा आकर्षक नाराको रूपमा कार्यक्रम आउने तर कार्यान्वयनमा नजाने नियति थियो ।

‘हेलिकप्टरमा निरीक्षण गरेर केरुङबाट काठमाडौं र काठमाडौंबाट लुम्बिनी रेल चलाउँछौं भनेर भाषण गर्दा जनताले पत्याउने देशमा सडक बन्छ भन्दा नपत्याउनुपर्ने कारण छैन,’ नेपाली काँग्रेस चितवन जिल्ला सभापति राजेश्वर खनालको तर्क छ ।

गुगल म्यापबाट लिइएको प्रतिकात्मक सामाग्री


Leave a Reply

Your email address will not be published. Required fields are marked *