काठमाडाैं शिक्षा क्याम्पससहित देशभरका सामुदायिक क्याम्पसमा आज पठनपाठन बन्द
थानकोट ।
शुक्रबार बाराको कलैयास्थित रामराजा मोहनविक्रम साह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहको गोली हानी हत्या गरेको घटनाको छानबिनका लागि दबाब दिन नेपाल पब्लिक क्याम्पस संघले आज आइतबार देशभरको सामुदायिक क्याम्पस बन्द गर्ने घोषणा गरेको छ ।
देशभरका सामुदायिक क्याम्पसहरूको छाता संगठन नेपाल पब्लिक क्याम्पस संघले शनिबार एक विज्ञप्ती जारी गर्दै आज आइतबार देशभरको सामुदायिक क्याम्पस बन्द गर्ने घोषणा गरेको थियो ।
क्याम्पस प्रमुख कुशवाहको घरबाट मोटरसाइकलमा कलैया फर्कने क्रममा आदर्श कोतवाल गाउँपालिका–३ बतरा गाउँको दक्षिणमा रहेको लंगहासन माई मन्दिर अगाडि शुक्रबार अज्ञात समूहले गोली हानी हत्या गरेका थिए ।
संघले घटनाको दोषीलाई यथाशिघ्र कानुनी कठघरामा ल्याई कारबाही गर्न सरकारसँग माग गरेको छ ।
‘बाँच्न पाउने नागरिकको मौलिक हकको सम्मान सबै पक्षबाट जिम्मेवारीपूर्वक निर्वाह गरियोस र यसको सुनिश्चितताको प्रत्याभूतिप्रति सरकार गम्भीर बनोस भनी ध्यानाकर्षण गराउन चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।
आगामी दिनमा यस्ता अमानवीय घटनाको पुनरावृत्ति नहोस् र राज्य तथा अन्य सम्बन्धित निकायको ध्यानाकर्षणका लागि नेपाल पब्लिक क्याम्पस संघले देशभरिका आफ्ना सबै सदस्य सामुदायिक क्याम्पसहरूको पठनपाठन आज आइतबारका दिन बन्दको आह्वान गरिएको नेपाल पब्लिक क्याम्पस संघका अध्यक्ष शत्रुध्न प्रसाद गुप्ताले बताउनुभयो ।
संघले सबै सामुदायिक क्याम्पसहरूलाई नियमित पठनपाठन बन्द गरी शोक मनाउन अनुरोध गरेको छ ।
आज सबै सामुदायिक क्याम्पसमा यसअघि निर्धारण गरिएका परीक्षाका कार्यक्रम बाहेक अन्य गतिविधि बन्द रहनेछन् ।