सामुदायिक वन प्रवेशमा १ सय रूपैयाँ लिएको विषयमा चन्द्रागिरि हिल्स को भनाइ के छ ?
थानकोट ।
सामुदायिक वन क्षेत्रमा प्रवेश गरे बापत शुल्क उठाएको विषयले चर्चा पाइरहँदा चन्द्रागिरि हिल्स प्रशासनले सो बारेमा प्रष्टीकरण दिएको छ ।
केहीदिन अघि सामाजिक सञ्जालमा भालेश्वर डाँडा जाने क्रममा पैदल यात्रीहरूसँग चन्द्रागिरि हिल्सले १ सय रूपैयाँ शुल्क लिएपछि सो विषय सतहमा आएको थियो । जसको सामाजिक सञ्जालमा चर्को विरोध भएपछि वन कार्यालयका प्रतिनिधि, स्थानीय सामुदायिक वन उपभोक्ता समिति तथा चन्द्रागिरि हिल्सका प्रतिनिधिहरूसहित छलफल आयोजना गरिएको छ।
सव-डिभिजन कार्यालयका वन अधिकृत अशोक पराजुलीको संयोजकत्वमा चन्द्रागिरि वन संरक्षण तथा विकास समितिका पदाधिकारी सम्मिलित सो छलफलमा चन्द्रागिरि हिल्सले लिएको प्रवेश शुल्कका बारेमा चर्को विरोध भएको थियो ।
सो क्रममा चन्द्रागिरि केबलकारको प्रवर्द्धक चन्द्रागिरि हिल्स लि.का कार्यकारी प्रमुख अरुण प्रधान, प्रशासन प्रमुख झलक पौडेल, स्थानीय सामुदायिक वन उपभोक्ता समुहका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।
छलफलका क्रममा चन्द्रागिरि हिल्सले परापूर्वकाल देखिको हिंड्ने बाटो प्रयोगमा लिएको शुल्क लिइरहेकोमा स्थानीयबासीहरुलाई निःशुल्क प्रवेश दिन चन्द्रागिरि हिल्स प्रशासन सकरात्मक भएको छ । साथै हिल्स क्षेत्र नजिकका ४ वटा सामुदायिक वनमा चैत, बैशाख र जेठ महिनाको लागि वन हेरालु राख्ने निर्णय भएको महांकालस्थान सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष निराजन महतले जानकारी दिनुभयो ।
जसका लागि हिल्स प्रशासन प्रत्येक वन समुहका लागि मासिक १० हजारका दरले ज्याला रकम दिन सहमत भएको छ ।
चन्द्रागिरि हिल्स व्यवस्थापनले सो परियोजना वरपरका सामुदायिक वनमा पहिरो नियन्त्रण, वन डढेलो नियन्त्रण जस्ता क्रियाकलापहरुमा सहयोग गर्ने पनि प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ ।
चन्द्रागिरि डाँडाको भञ्ज्याङ्बाट पैदल भालेश्वर पुग्नेहरूले सामुदायिक वनमा जथाभावी फोहोर फाल्ने गर्दा वन क्षेत्र र वातावरण प्रदुषण बढेकोले त्यसलाई नियन्त्रण गर्नको लागि शुल्क लिने निर्णय गरेको चन्द्रागिरि हिल्सका उपमहाप्रबन्धक श्याम तन्डुकारले जानकारी दिए । तर स्थानीयबासीहरुलाई भालेश्वर मन्दिर जान कुनै रोकतोक नगरिएको तन्डुकारको दाबी छ ।
साथै, शुल्क उठाएको पैसाले त्यस क्षेत्रमा फोहोर तथा सरफाइ गर्ने मान्छे राख्ने व्यवस्था गरिएको उनको भनाइ छ ।