काठमाडाैं शिक्षा क्याम्पसमा क्याम्पस-समुदाय-उद्योगी विषयक तीन दिने संवाद गोष्ठी प्रारम्भ

Thankot Times

थानकोट । 

चन्द्रागिरि नगरपालिका-१० सतुङ्गलस्थित काठमाडाैं शिक्षा क्याम्पसमा शनिबारबाट क्याम्पस-समुदाय-उद्योगी संवाद विषयक तीन दिने गोष्ठी सुरु भएको छ । 

चन्द्रागिरि नगरपालिका क्षेत्रभित्र रहेका सामुदायिक/गुठी/निजी तथा अन्य विद्यालय तथा सामुदायिक क्याम्पसहरूको स्थायित्व र शैक्षिक विकासका लागि चन्द्रागिरि नगरपालले खेलिरहेको भूमिका, यथार्थता, तथा भावी दिशानिर्देशका सम्बन्धमा समुदाय, विद्यालय र चन्द्रागिरि नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको समेत प्रतिनिधित्व रहने गरी सो कार्यक्रम आयोजना गरिएको काठमाडाैं शिक्षा क्याम्पसका प्रमुख तथा नेपाल पब्लिक क्याम्पस संघका केन्द्रीय अध्यक्ष शत्रुध्नप्रसाद गुप्ताले जानकारी दिनुभयो ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिका वडा नं. १० का वडाध्यक्ष शीवकुमार महर्जन, वडा नं. १५ का वडाध्यक्ष घनश्याम लुँइटेल, काठमाडाैं शिक्षा क्याम्पस व्यवस्थापन समुहका पदाधिकारीहरू, चन्द्रागिरि नगरका विभिन्न संस्थागत तथा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू तथा प्रतिनिधिहरू लगायतको सहभागिता रहेको थियो । 

विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सुरु भएको गोष्ठीको पहिलो दिन शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूसँग संवाद गरिएको छ । 

दोश्रो दिन आइतबार चन्द्रागिरि नगर क्षेत्रमा सञ्चालनमा रहेका उद्योगी, व्यवसायी तथा वित्तिय क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूसँग संवाद्को तालिका निर्धारण गरिएको छ । गोष्ठीको तेस्रो तथा अन्तिम दिन पढ्दै कमाउँदै विषयमा संवाद् हुने बताइएको छ।  

गोष्ठीको चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीले उद्घाटन गर्नुभएको हो । सो क्रममा मेयर गिरीले चन्द्रागिरि नगरपालिकाले आगामी आर्थिक वर्षका लागि चन्द्रागिरि नगरको नीति तथा कार्यक्रममा नगर क्षेत्रमा सञ्चालनमा रहेका मंगलोदय बहुमुखी क्याम्पस तथा काठमाडाैं शिक्षा क्याम्पसका लागि विशेष व्यवस्था गरिएको जानकारी दिनुभयो । मेयर गिरीले नगरले जीवनोपयोगी शिक्षामा ध्यान केन्द्रीत गरिरहेको बताउनुहुँदै प्रविधियुक्त शिक्षा र सीपयुक्त शिक्षा अबको आवश्यकता रहेको धारणा राख्नुभयो । माैलिक सीप तथा व्यवसायको प्रवर्द्धन, संरक्षण तथा बजारीकरणका लागि चन्द्रागिरि नगरले नगद अनुदान उपलब्ध गराउँदै आएकोले माैलिक सीपसँग समबन्धित व्यवसाय नगरबासीहरूका लागि स्वरोजगारको एक उत्तम माध्यम हुन सक्ने मेयर गिरीको भनाइ थियो । 

उहाँले नगर क्षेत्रका सामुदायिक क्याम्पसमा अध्ययनरत स्थानीय विद्यार्थीहरूका लागि छात्रवृत्ति सुनिश्चित गरिएको जानकारी दिनुभयो । नगरले पछिल्लो सात वर्षको अवधि करिब १२ करोड रूपैयाँ विभिन्न गोष्ठी तथा तालिम कार्यक्रममा खर्च गरिसकेको बताउनुहुँदै उहाँले ती गोष्ठी तथा तालिम कार्यक्रमको ‘आउटपुट’ के भन्ने प्रश्न गर्नुभयो । 

क्याम्पस-समुदाय-उद्योगी संवाद विषयक तीन दिने गोष्ठीको उद्घाटन सत्रमा आमन्त्रित काठमाडाैं शिक्षा क्याम्पसका संस्थापक तथा पोखरा विश्वविद्यालयका उपकुलपति डा. प्रेमनारायण अर्यालले विद्यालयहरूमा विद्यार्थी आउने वातावरण बनाउनु आजको आवश्यकता रहेको बताउनुभयो । अर्को प्रसंगमा उपकुलपति डा. अर्यालले काठमाडाैं शिक्षा क्याम्पसले स्थानीय सरकार चन्द्रागिरि नगरपालिका, स्थानीय समुदाय तथा समाजसेवीहरूबाट पाएको सहयोगको खुलेर प्रशंसा गर्नुभयो । 

काठमाडाैं शिक्षा क्याम्पसका प्रमुख शत्रुध्नप्रसाद गुप्ताले  सामुदायिक क्याम्पसहरूले राष्ट्रको शैक्षिक उन्नयका क्षेत्रमा पुर्याएको योगदानको कदर संघ, प्रदेश र स्थानीय सरकारबाट निरन्तर हुनुपर्नेमा जोड दिनुहुँदै आगामी आर्थिक वर्षका लागि विद्यार्थी मैत्री, विद्यालय मैत्री, सामुदायिक क्याम्पस मैत्री बजेट आउनुपर्ने धारणा राख्नुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *