मातातिर्थमा ट्यांकरमा बेचिने पानीको मुहानमाथिको अधिकार बारेमा सरकारले बोल्नुपर्छ-सांसद् श्रेष्ठ
थानकोट ।
संघीय सांसद् कृष्णगोपाल श्रेष्ठले मातातिर्थ क्षेत्रबाट ट्यांकरमा किनबेच हुने खानेपानीको मुहानमाथिको अधिकारका बारेमा सरकारले स्पष्ट धारणा बनाउनुपर्ने टिप्पणी गर्नुभएको छ ।
बिहीबार चन्द्रागिरि नगरपालिका-१३ नैकापस्थित डाैडाली खोलामा बन्न लागेको ५ सय घनमिटर क्षमताको पानी ट्याँकीको शिलान्यास कार्यक्रममा सांसद् श्रेष्ठले सो बताउनुभएको हो ।
चन्द्रागिरि नगरका विभिन्न क्षेत्रमा खानेपानीको पर्याप्त मुहान रहेको तर कतिपय क्षेत्रमा खानेपानीको अभाव चर्किरहेकोले नगरमा भएका खानेपानीका मुहानहरूको उचित प्रयोगका लागि नगरले विशेष अग्रसरता लिनुपर्नेमा सांसद् श्रेष्ठको जोड थियो ।
खानेपानी लगायत विकासका पूर्वाधारहरूको निर्माण तथा व्यवस्थापनमा सबै राजनीतिक दलहरूको धारणा एकै हुनुपर्ने धारणा राख्नुहुँदै सांसद् श्रेष्ठले समाजको संवृद्धिका लागि सबैले हातेमालो गर्नुको विकल्प नरहेको बताउनुभयो ।