चन्द्रागिरि-१३ पुरानो नैकापमा करिब १० करोड रूपैयाँ लागतमा ड्यामसहित खानेपानी संरचना बन्ने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-१३ पुरानो नैकापमा करिब १० करोड रूपैयाँको लागतमा खानेपानीका विभिन्न संरचनाहरू बन्ने भएका छन् ।

राष्ट्रिय योजना आयोगको सिफारिसमा स्थानीय डाैडाली खोलामा पानी जम्मा गर्न ड्याम, पानी ट्याँकी, पम्प हाउस लगायतका संरचना बन्ने वडा कार्यालयले जनाएको छ ।

पहिलो चरणमा निर्माण हुने ५ सय घनमिटरको पानी ट्याँकी तथा पम्प हाउसको बिहीबार एक कार्यक्रमका बीच संघीय सांसद कृष्णगोपाल श्रेष्ठ, बागमती प्रदेशका वन तथा वातावरण मन्त्री केशव पोखरेल, चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ लगायतको उपस्थितिमा शिलान्यास गरिएको सो क्रममा स्थानीय बासीहरूको समेत बाक्लो उपस्थिति रहेको थियो । नयाँ बन्ने खानेपानी संरचना सम्पन्न भएसँगै आफुहरूको काकाकुल समस्या निदान हुनेमा उनीहरू आशावादी देखिन्थे ।

कार्यक्रममा बोल्नुहुँदै बागमती प्रदेश सभा सदस्य एवं वन वातावरण मन्त्री केशव पोखरेलले बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८१-८२ मा प्रदेशका सबै स्थानीय तहहरू हरेकमा १ सय वटाका दरले पानी पुनर्भरण पोखरी निर्माणका लागि प्रदेश वन मन्त्रालयले बजेट विनियोजन गर्ने जानकारी दिनुभयो ।

विगतमा गाउँगाउँमा आहाल बनाउने परम्पगत आहालहरू पुनर्जीवित गर्न अत्यावश्यक भइसकेको धारणा राख्नुहुँदै मन्त्री पोखरेलले प्रदेश सरकारको नीति तथा कार्यक्रममा पानी पुनर्भरणको विषय समावेश गर्ने तयारी भइरहेको बताउनुभयो ।

उहाँले प्रदेशका सामुदायिक वनहरूमा एक वन एक उद्यम अभियानसमेत आगामी आर्थिक वर्षबाट सुरु गर्ने योजना रहेको बताउनुहुँदै प्राकृतिक स्रोतको समान उपयोगका लागि सबै राजनीतिक दलहरूको समान धारणाको अभाव हुँदा समाज विखण्डनतर्फ जाने खतरा औंल्याउनुभयो ।

अर्को प्रसंगमा मन्त्री पोखरलेलले चन्द्रागिरि नगर क्षेत्रमा भू-क्षय रोकथाम तथा भू संरक्षणका लागि प्रदेश सरकारले आगामी वर्षका लागि पर्याप्त बजेट विनियोजन गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नगर क्षेत्रमै पहिलो पटक बन्न लागेको पानी संकलन पोखरी (ड्याम) सहित पानी ट्याँकीको शिलान्यास कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्नुहुँदै चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीले नगरले गत वर्ष जारी गरेको एकीकृत खानेपानी ऐनका केही दफाहरूमा सम्मानित सर्वोच्च अदालतले दिएको निर्देशनअनुसार संशोधन गरिएको र केही दिनमै स्थानीय राजपत्रमा प्रकाशित हुने जानकारी दिनुभयो ।

नगरप्रमुख गिरीले नगर क्षेत्रमा हरेक वर्ष करिब २ हजार को संख्यामा भाैतिक संरचना निर्माण भइरहेकोले नगरमा बन्ने नयाँ घरमा पानी पुनःर्भरणका लागि संरचना अनिवार्य रूपमा समावेश हुनुपर्ने नीति लागु गर्न तयारी भइरहेको बताउनुभयो ।

पानी पुनःर्भरणका लागि नगरले कुनै कसर बाँकी नराख्ने धारणा राख्नुहुँदै नगरप्रमुख गिरीले नगर क्षेत्रका विभिन्न स्थानमा प्रयोगविहीन जस्तै भइरहेका खानेपानीका मुहानहरूको क्रमशः व्यवस्थापनमा वडा तहमै अधिकार प्रत्यायोजनको तयारीमा नगर लागि परेको धारणा राख्नुभएको थियो ।

करिब २ करोड रूपैयाँको लागतमा निर्माण सम्पन्न हुन लागेको चन्द्रागिरि नगरकै अग्रणी मानिएको सो परियोजनाको पहिलो चरणको संरचना शिलान्यास कार्यक्रममा पुग्नुभएकी नगर उपप्रमुख बसन्ती श्रेष्ठले खोला संरक्षणका लागि स्थानीय तहले आवश्यक कार्य अघि बढाउन जरुरी रहेको धारणा राख्नुभयो ।

उहाँले नगरका सबै वडाहरूले एकले अर्काको समस्या बुझेर समस्या समाधानका समान रूपमा प्राकृतिक स्रोत र साधनहरूको प्रयोगमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै नेकपा एमालेका नगर अध्यक्ष एवं शहरी योजनाविद् ईञ्जिनियर उत्तम बहादुर राउतले नैकाप क्षेत्रमा बन्न लागेको पानी पुनःर्भरण पोखरी/ड्याम काठमाडाैं उपत्यकामा नै दोश्रो भएकोले सरोकारवालाहरूले सो परियोजना सफलतापूर्वक निर्धारित समयमै निर्माण गराउन समन्वयकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

केन्द्र सरकारको व्यवस्थापनमा निर्माण सुरु गरिएको सो परियोजना अन्तर्गत पानी ट्याँकी, पम्प हाउस र ड्यामको बेसमेन्ट असार २० गते निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ भक्तपुरको वर्षा निर्माण सेवाले जिम्मेवारी पाएको छ ।

पहिलो चरणमा परियोजनाको कुल लागत भ्याट सहित १ करोड ७० लाख ५ हजार ६ सय ८६ रूपैयाँ चाैवालिस पैसा रहेको वडाध्यक्ष श्रीकृष्ण खत्रीले जानकारी दिनुभयो । अर्को वर्ष थप संरचना निर्माणका लागि बजेट प्राप्तिका लागि सुनिश्चतता प्राप्त भइसकेको उहाँको भनाइ छ ।

पानी ट्यांकी तथा ड्याम निर्माण सम्पन्न भएपछि पुरानो नैकाप क्षेत्रमा खानेपानीको अभाव निकै हदसम्म पूर्ति हुनेमा आशावादी रहेको वडाध्यक्ष खत्रीको धारणा छ । अहिले सो वडामा विभिन्न ४ वटा खानेपानी समिति अस्तित्वमा छन् । नयाँ परियोजना भने वडा कार्यालयले नै सञ्चालन गर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *