चन्द्रागिरि ५ का नवनिर्वाचित वडाध्यक्ष माओवादी केन्द्रबाट निष्काशित (विज्ञप्ति सहित)
थानकोट ।
नेकपा माओवादी केन्द्रको चन्द्रागिरि नगर समितिले नवनिर्वाचित वडाध्यक्ष सहित ३ जना जनालाई कारबाहीको निर्णय गरेको छ ।
जेठ १२ गते सम्पन्न चन्द्रागिरि नगर कार्यपालिकाको निर्वाचनमा पार्टी निर्णय विपरित कार्य गरेको भन्दै चन्द्रागिरि नगरपालिका ५ महादेवस्थानका नवनिर्वाचित वडाध्यक्ष राजेन्द्र महर्जनलाई सो पार्टीको साधारण सदस्यसमेत नरहने गरि कारबाही गरिएको नगरसमिति अध्यक्ष देवकृष्ण महर्जन तथा इन्चार्ज गणेश बहादुर कुँवरद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा जनाइएको छ ।
चन्द्रागिरि नगर कार्यपालिकाको निर्वाचनमा नेकपा माओवादी केन्द्रका तथा नेपाली काँग्रेसका समान चार चार जना सदस्य निर्वाचित भएका थिए ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको सो प्रेस विज्ञप्तिमा नगर समिति सचिव नन्दकुमार महर्जन तथा वाग्मती प्रदेश समिति सदस्य रविन्द्र रिजाललाई सो पार्टीको साधारण सदस्य समेत नरहने गरि अनुशासनको कारबाहीका लागि वाग्मती प्रदेश समितिमा सिफारिस गरिएको बताइएको छ ।
पार्टीले साधारण सदस्य समेत नरहने गरि निष्काशन गरेकाे विषयमा थानकोट टाइम्सले जिज्ञासा राख्दा चन्द्रागिरि ५ का वडाध्यक्ष राजेन्द्र महर्जनले आफुले पार्टीको केन्द्रीय कमिटिले गरेकाे निर्णय पालना गरेको प्रतिक्रिया दिएका छन् । त्यस्तै, सो पार्टीका नगरसमिति सचिव नन्दकुमार महर्जनले स्थानीय तह निर्वाचनका सम्बन्धमा पार्टीको केन्द्रीय समितिले गरेको गठबन्धनको निर्णय सदैव आत्मसाथ गर्ने प्रतिक्रिया दिए । पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाहीको सिफारिसमा परेका वाग्मती प्रदेश समिति सदस्य रविन्द्र रिजालले पार्टीको नेतृत्व पंक्तिको निर्णय पालना गर्नु सबै कार्यकर्ताको दायित्व रहेकोले आफुले सोही अनुसार कार्य गर्दै आएको प्रतिक्रिया दिए ।
नवनिर्वाचित वडाध्यक्ष सहित तीन नेतालाई कारबाही गरिएका विषयमा थानकोट टाइम्सले जिज्ञासा राख्दा नेकपा माओवादी केन्द्र चन्द्रागिरि नगर समिति अध्यक्ष देवकृष्ण महर्जनले जेठ १२ गते बसेको सो पार्टीको नगर सचिवालय बैठकको निर्णय अनुसार प्रेस विज्ञप्ति जारी गरिएको प्रतिक्रिया दिए ।