पढाउनका लागि थानकोटदेखि भक्तपुर, बुढानिलकण्ठ, हात्तीवनसम्म पुर्याइन्छन कलिला विद्यार्थी

Thankot Times

थानकोट।

शिक्षा मन्त्रालयले जारी गरेको संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका, २०६९ को बुँदा ३.९ मा काठमाडौं उपत्यकाभित्रका एकदेखि पाँच कक्षासम्मका विद्यार्थीलाई विद्यालयले दैनिक अधिकतम १२ किलोमिटरसम्म आतेजाते गराउन सक्ने व्यवस्था छ । त्यस्तै, पाँच कक्षाभन्दा उपल्लो तहका विद्यार्थीलाई दैनिक आतेजातेमा अधिकतम १८ किलोमिटरसम्म यात्रा गराउन पाउने व्यवस्था छ । 

तर, अभिभावकको रहर र विद्यालयको व्यापारका लागि कलिला बालबालिका दैनिक घण्टौँ ट्राफिक जाम, घाम र धुलो पचाउँदै ४० किलोमिटरसम्म बसयात्रा गरेर अध्ययनका लागि जाउआउ गर्न बाध्य छन् । महँगा र नाम चलेका स्कुलमा छोराछोरी पढाउँदा अभिभावक गौरवानुभूत गर्छन् । अनि, व्यापारमुखी विद्यालय सरकारी नियम नाघेर बालबालिकामाथि अत्याचार गर्न तयार हुन्छन् ।

भक्तपुरको गुन्डुमा रहेको काठमाडौं वर्ल्ड स्कुलमा नजिकका भन्दा टाढाका विद्यार्थी धेरै छन् । महँगो शुल्क लिने यस विद्यालयको ‘भ्यान’ बिहान ५:३० बजेदेखि नै विद्यार्थी बोक्न गुड्छ । यो स्कुलले भक्तपुरको खरिपाटी र ललितपुरको सातदोबाटोलगायत क्षेत्रबाट मात्रै होइन, काठमाडौंको चाबहिल, बाँसबारी, काभ्रेस्थली, बालाजु, कलंकी हुँदै थानकोटसम्मका विद्यार्थी ओसार्छ ।

हात्तीवनस्थित लिटिल एन्जेल्स स्कुलले बुढानीलकण्ठदेखिका विद्यार्थी बोक्छ । हात्तीवनदेखि बुढानीलकण्ठसम्मको सीधा दूरी नै २० किलोमिटर छ । विभिन्न ठाउँका विद्यार्थी उठाउँदै घुमिफिरी जाँदा दूरी निकै बढ्छ । यो विद्यालयले सूर्यविनायक, टोखा, थानकोट, बालाजु, चाबहिल, गोकर्णेश्वरलगायत क्षेत्रबाट विद्यार्थी ओसार्छ । हात्तीवननजिकै धापाखेलमा रहेको जेम्स स्कुलले पनि टोखा, थानकोट, कलंकी, गोंगबुलगायत ठाउँबाट विद्यार्थी उठाउँछ नयाँ पत्रिका दैनिकमा खबर छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *