बलम्बुबाट सुरु हुने बाहिरी चक्रपथ आयोजना सुरु नहुँदै ५० करोड स्वाहा !
थानकोट ।
सरकारले काठमाडाैं उपत्यकाका तीन जिल्लालाई सडक सञ्जालसँग जोड्नेगरी अघि बढाएको बाहिरी चक्रपथ आयोजना निर्माण अनिश्चित बनेको छ।
योजना निर्माणको चर्चा सुरु भएको दुई दशकभन्दा बढी समय बित्दा समेत बन्ने/नबन्ने कुनै टुंगो लाग्न सकेको छैन्।
काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न भागलाई छोएर बाहिरी चक्रपथ बनाउने योजना सरकारको छ। त्रिभुवन राजपथको बलम्बुलाई शून्य किलोमिटर मानेर बाहिरी चक्रपथ बनाउने योजना छ।
काठमाडौंमा बाहिरी चक्रपथ खासगरी नैकाप भन्ज्याङ, थापागाउँ आसपास, स्युचाटार, सीतापाइला, बाहिरी स्वयम्भू, वनस्थली, बालाजु औद्योगिक क्षेत्रको छेउ, बाइपास, गोंगबु, हिलेडोल, मनमैजु, टोखा–सरस्वती क्षेत्र, चपली, चुन्नीखेल, टुसाल गाउँ, गोकर्णेश्वर, बामथली, नयाँपाटी हुँदै निर्माण हुनेछ।
त्यस्तै भक्तपुरमा थली–डाँछी, चाँगुनारायण क्षेत्र, फुयाँलगाउँ, दुवाकोट, रोकागाउँ, हनुमानटार, लुकुन्डोल, पकाउने पाटी, खरीपाटी, सुडाल, यङ्डोल, जगाती, हनुमन्ते खोलाको छेउ, अरनिको राजमार्ग, सिर्जनानगर, सल्लाघारी, दधिकोट, गाम्चा भएर निर्माण कार्य अगाडि बढाउने डिपिआरमा उल्लेख छ।
ललितपुरको लुभु, विष्णुडोल, हरिसिद्धि, दसघर, धापाखेल, ठेचो, बुङ्मती, खोकना, कार्यबिनायक, बागमती पुल हुँदै काठमाडौंंको चोभार क्षेत्र (पुरानो सिमेन्ट कारखाना) छेउ चक्रपथ जोडिनेछ। चोभारबाट, कीर्तिपुर, गाम्चा, मच्छेगाउँ हुँदै तीनथानाको दक्षिण हुँदै सतुंगल पुगेर यो चक्रपथ जोडिने प्रारम्भिक प्रतिवेदनमा जनाइएको छ।
पछिल्ला दुई दशकको अवधिमा शासन व्यवस्था बदलियो, पटकपटक सरकार फेरिए, मन्त्री, सचिव र आयोजना प्रमुख फेरिए। तर बाहिरी चक्रपथ आयोजना कागजमै सीमित छ।
आयोजनाका नाममा कार्यालय सञ्चालन खर्च र कर्मचारीको तलबभत्तामा राज्यकोष खर्च भइरहेको छ। आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) निर्माणलगायतमा गरी हालसम्म ५० करोड रुपैयाँ हाराहारीमा खर्च भइसकेको आयोजना प्रमुख प्रकाश अर्याल बताउँछन् नागरिक दैनिकमा खबर छ ।