काठमाडाैं शिक्षा क्याम्पसमा ग्राफिक्स डिजाइनिङ तालिम सम्पन्न, ५२ जनाको सहभागिता

Thankot Times

थानकोट ।

३३औं स्थापना दिवसका अवसरमा चन्द्रागिरि नगरपालिका-१० सतुगंलमा रहेको काठमाडाैं शिक्षा क्याम्पसले सञ्चालन गरेको ग्राफिक्स डिजाइनिङ तालिम कार्यक्रम सम्पन्न भएको छ ।

नगर क्षेत्रका सामुदायिक विद्यालयमा कार्यरत इच्छुक शिक्षक तथा कर्मचारीहरूको क्षमता अभिवृद्धि गराउने उद्देश्यले बैशाख २१ गतेबाट क्याम्पसमा सञ्चालन भएको तालिम कार्यक्रममा ५२ जनाले सहभागिता जनाएको क्याम्पस प्रमुख शत्रुघ्नप्रसाद गुप्ताले जानकारी दिनुभयो ।

तालिममा सहभागीहरूलाई शुक्रबार एक कार्यक्रमका बीच त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशी लगायतले प्रमाणपत्र वितरण गर्नुभयो ।

सो क्रममा चन्द्रागिरि नगरपालिका वडा नं. १० सतुगंलका वडाध्यक्ष शिवकुमार महर्जन, क्याम्पसका विभिन्न विभागका प्रमुख, तालिम कार्यक्रमका प्रशिक्षकहरू तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

विश्व विद्यालय अनुदान आयोगको सहयोगमाक्याम्पसमा अध्ययनरत विद्यार्थी तथा अध्यापक एवं कर्मचारीहरूका लागि ग्राफिक्स डिजाइनिङ बारेमा सैद्धान्तिक र व्यवहारिक तालिम कार्यक्रम सञ्चालन गरिएको क्याम्पस प्रमुख गुप्ताले जानकारी दिनुभयो ।

क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूका लागि विविध कार्यक्रम तथा तालिम कार्यक्रम सञ्चालन गरिँदै आएको जानकारी दिनुहुँदै क्याम्पस प्रमुख गुप्ताले काठमाडाैं शिक्षा क्याम्पस सूचना प्रविधि अध्ययनका लागि समेत उत्कृष्ठ गन्तव्य बनाउन आफुहरू लागिपरेको उहँको भनाइ थियो । अवसरलाई लाजले वञ्चित गर्ने गर्दछ भन्ने धारणा राख्नुहुँदै उहाँले काठमाडाैं शिक्षा क्याम्पसले सूचना प्रविधि मैत्री कक्षाहरूको निर्माणका लागि करिब १ करोड रूपैयाँ खर्च गर्ने योजना रहेको जाकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै चन्द्रागिरि नगरपालिका वडा नं. १० का वडाध्यक्ष शिवकुमार महर्जनले काठमाडाैं शिक्षा क्याम्पसले समय-समयमा सञ्चालन गरिरहेका विभिन्न तालिम कार्यक्रमहरूको उपादेयता खोज्ने बेला आइसकेको धारणा राख्नुभयो । तालिम कार्यक्रम कार्यान्वयमा आउन सके मात्र त्यस्ता तालिम कार्यक्रमको सार्थकता रहने उहाँको भनाइ थियो ।

वडाध्यक्ष महर्जनले आगामी आर्थिक वर्षका लागि चन्द्रागिरि नगरले सञ्चालन गर्न लागेको पढ्दै कमाउँदै कार्यक्रमका लागि काठमाडाैं शिक्षा क्याम्पसले नगरले सहकार्य गर्न सक्ने सम्भावना औल्याउनु भयो ।

गत एवं चालु आर्थिक वर्षमा काठमाडाैं शिक्षा क्याम्पसको भाैतिक संरचना विकासमा चन्द्रागिरि नगर एवं वडा कार्यालयले प्राथमिकता दिएको स्मरण गराउनुहुँदै उहाँले आगामी वर्ष क्याम्पसको नेतृत्व विकास लगायतका विषयका लागि वडा एवं नगरले बजेट व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशी लगायतले प्राविधिक ज्ञान जति आर्जन गर्यो उति नै अपुग हुने धारणा राख्नुभयो । प्रविधिसँग जति घुलमिल हुन सक्यो उति नै धेरै अवसरमा पाइने धारणा राख्नुहुँदै उहाँले तालिम सैद्धान्तिक विषय मात्रै भएकोले अभ्यास अपरिहार्य रहेको बताउनुभयो । त्रिभुवन विश्वविद्यालयले नविनतम विषयलाई समेत पाठ्यक्रममा समावेश गर्न कोशिस गरिरहेको जानकारी दिनुहुँदै उहाँले त्रिविले लिएका परीक्षाहरूको नतिजा छिटो छरितो बनाउने क्रममा आफुले विभिन्न योजना बनाइ कार्यान्वयन गरिरहेको जानकारी दिनुभयो ।

परीक्षा लिएको १ सय दिनभित्र नतिजा सार्वजनिक गरी विश्वविद्यालयले निर्धारण गरेको क्यालेन्डर अनुसार कार्य गर्न त्रिवि परीक्षा नियन्त्रण कार्यालय तत्पर रहेको उहाँको धारणा थियो ।

पर्याप्त जनशक्ति नहुँदा अहिले त्रिविका परीक्षाहरूको नतिजा समयमै सार्वजनिक हुन नसकेको उहाँको भनाइ छ । उहाँले त्रिविका परीक्षा प्रणालीहरूका सन्दर्भमा सामाजिक सञ्जालमा प्रकाशन/प्रसारण भइरहेका विषयमा सत्यता नरहेको परीक्षा नियन्त्रक पुष्पराज जोशीको भनाइ थियो । नयाँ सफ्टवेयर निर्माण गरी सेवाग्राहीका लागि सहज रुपमा सेवा लिने वातावरण बनाउन त्रिवि परीक्षा नियन्त्रण कार्यालयले कार्य गरिरहेको समेत उहाँको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *