इन्द्रस्थानस्थित भ्यू-टावर सञ्चालनका लागि ठेक्का लगाउँदै चन्द्रागिरि नगर (सूचनासहित)
थानकोट ।
देशका घुम्नैपर्ने १ सय गन्तव्यको सूचीमा रहेको चन्द्रागिरि नगरपालिका १ दहचोक इन्द्रस्थानस्थित कालु पाँडे समाधिस्थल हातामा निर्माण भएको भ्यू-टावर सञ्चालन ल्याउन चन्द्रागिरि नगरपालिकाले सार्वजनिक ठेक्का आह्वान गरेको छ ।
शुक्रबार गोरखापत्र राष्ट्रिय दैनिकमा सूचना जारी गर्दै नगरले भ्यू टावर, कालु पाँडे समाधिस्थल, पार्किङ व्यवस्थापन एवं गिफ्ट शप सञ्चालनका लालि ठेक्का आह्वान गरेको हो ।
ती कार्यका लागि न्यूनतम २० लाख कबोल अंक कायम गरिएको सो सूचना उल्लेख छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ को दफा १९ को उपदफा २ घ को १, २, र १३, परिच्छेद ९ को दफा ६० र ६२ को व्यवस्था , चन्द्रागिरि नगरपालिकाको आन्तरिक आय संकलन (ठेक्का बन्दोबस्त) कार्यविधि, २०७८ र चन्द्रागिरि नगरपालिका कार्यपालिकाको निर्णयको अधिनमा रही नगरपालिकाको क्षेत्राधिकारभित्र रही सो ठेक्का आह्वान गरिएको चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।
वि.सं २०७५ फागुन ९ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले कालु पाँडेको समाधिस्थलसँगै उनको पूर्णकदको शालिक अनावरण गरेका थिए भने सोही बखत ओलीले दहचोकमा निर्माण गरिएको पाँच तले भ्यू टावरको उद्घाटन गरेका थिए ।
विशेषतः सार्वजनिक बिदाका दिन उपत्यका र आसपासका वासिन्दा मनोरञ्जनका लागि दहचोक पुग्ने गरेका छन्। दहचोकबाट काठमाडौँ उपत्यकाका साथै धादिङ, नुवाकोट र गोरखालगायत क्षेत्र देख्न सकिन्छ ।
नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहका प्रधानसेनापति कालु पाँडेले कीर्तिपुर युद्धका क्रममा विसं १८१४ जेठ १९ गते वीरगति प्राप्त गरेका थिए। काजी कालु पाँडेले आफ्नो मृत्युपछि ‘गोरखा र मनकमनाको दर्शन हुने सक्ने गरी मेरो शरीर समाधिस्थ गर्नू’ भन्ने इच्छा व्यक्त गरेको हुँदा तत्कालीन गोरखाका राजा पृथ्वीनाराण शाहको निर्देशनमा दहचोकको डाँडामा उनको समाधिस्थ गरिएको इतिहास छ ।