आफ्नो नागरिकता दुरुपयोग गरि पैसा मागेको भेटिएपछि नैकापका आशिकले पाउनुसम्म गोता पाए…

थानकोट ।
अनलाइनमार्फत वैदेशिक रोजगारीमा पठाउने आश्वासन दिंदै नागरिकता दुरुपयोग गरेर ठगी गरेको आरोपमा तीन जना व्यक्ति पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले आइतबार बाराको जीतपुरबाट उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बारा जिल्लाका २३ वर्षीय सिद्धार्थ चौधरी, बाराकै २५ वर्षीया सोनम कुमारी चौधरी र पर्साका २६ वर्षीय राहुल रौदास छन् ।
प्रहरीका अनुसार आरोपित तीन युवाहरू सामाजिक सञ्जाल फेसबुक र ह्वाट्सएपबाट क्यानडा पठाइदिने भन्दै विज्ञापन गर्थे । त्यसपछि विदेश जान सम्पर्कमा आएका सर्वसाधारणलाई अनलाइन/मोबाइल बैंकिङमार्फत विभिन्न अकाउन्टमा रकम पठाउन लगाउँथे । त्यति मात्र नभइ ती सर्वसाधारणलाई नागरिकता पठाउन लगाउँथे ।
नागरिकता पठाइसकेपछि उनीहरूको नाममा भएको सिमको डुप्लिकेट सिम निकाल्थे । र, त्यस्ता सिम र कागजात बैंक अकाउन्ट खोल्न प्रयोग गर्थे । यसरी ठगी गरेपछि केही पीडितले काठमाडौं उपत्यकामा उजुरी दिएको थिए ।
त्यसैका आधारमा अनुसन्धान गर्दै जाँदा आरोपित तीन जना पक्राउ परेको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । “अझै पीडित आउने क्रम जारी छ,” उनले भने, “झन्डै १२ जना पीडित पुगिसकेका छन् ।”
प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले अनधिकृत रूपमा सञ्चालन गरेका बैंक तथा वालेटमा ८२ लाखभन्दा बढीको कारोबार भएको देखिएको छ । उनीहरूबाट प्रहरीले ल्यापटप, मोबाइल, नागरिकता र अन्य विभिन्न कागजात बरामद गरेको छ । उनीहरूले रौतहट राजदेबि नगरपालिका वडा न ९ घर भई चन्द्रागिरि नगरपालिका १४ नैकाप बस्ने आशिक कुमार सिंह समेतको नागरिकता प्रयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
उनीहरूमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।