प्रहरी प्रभाग बलम्बुका इन्स्पेक्टर र मोबाइल कमान्डरलाई सचेत गराउन सिफारिस
थानकोट ।
प्रहरी प्रभाग बलम्बुका सहायक हवल्दार हेमराज एलजीको मृत्युबारे छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनाली नेतृत्वको छानबिन समितिले उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापालाई प्रतिवेदन बुझाएको हो ।
माघ २५ मा राति ड्युटी सकेर फर्किँदा चन्द्रागिरि नगरपालिका–११ स्थित पुलमा प्रहरीको भ्यानबाट खसेर सहायक हवल्दार एलजीको मृत्यु भएको थियो । मोबाइल गाडीका कमान्डर र चालकको कमजोरीका कारण एलजीको मृत्यु भएको छानबिन समितिको निष्कर्ष छ ।
समितिले प्रहरी प्रभाग बलम्बुका इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठ, मोबाइल गाडीका कमान्डर प्रहरी सहायक निरीक्षक (असई) रमेश चौलागाईं, चेकिङ कमान्डर प्रहरी हवल्दारलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । इन्स्पेक्टर, असई र चेकिङ कमान्डरलाई ‘सचेत’ गराउन सिफारिस गरिएको छानबिन समितिका संयोजक एसएसपी दिनेशराज मैनालीले बताए । उनले भने, ‘प्रतिवेदन कार्यान्वयनका लागी जिल्ला प्रहरी परिसर टेकुमा पठाएका छौँ ।’
राति करिब सवा ११ बजे डेरातर्फ जाने बिन्दुमा झर्न खोज्दा बा.१ झ ७४१८ नम्बरको भ्यानबाट सडकमा खसेर एलजीले ज्यान गुमाएका हुन् । भ्यान चालक सहायक हवल्दार रामप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेर ‘सवारी ज्यान’ मुद्दा चलाएको छ ।
छानबिन समितिमा एसपी मिलन केसी र जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी अनिल अधिकारी सदस्य थिए, रातोपाटीमा खबर छ। सहायक हवल्दारको मृत्युपछि असावधानीपूर्वक बलम्बु प्रभागका इन्स्पेक्टर श्रेष्ठले बोकेको पेस्तोलबाट गोली चलेसँगै उनलाई जिम्मेवारीबाट हटाइएको छ ।
सो घटनापछि उपत्यका प्रहरी कार्यालयले ‘सेफ्टी ड्राइभिङ नलेज एन्ड स्किल’ तालिम कार्यान्वयन नभएको भन्दै त्यसबारे ब्रिफिङ गर्न उपत्यकाका प्रहरी युनिटहरूमा सर्कुलर गरेको छ ।