चन्द्रागिरिका संजय महर्जनले निर्देशन गरेको भिडिओ चीनमा हुने मिसेस ग्लोब-२०२४ मा देखाइने

Thankot Times

थानकोट ।

चीनको हाइनान शहरमा हुने मिसेस ग्लोब-२०२४ प्रतियोगिताका सहभागीका लागि चन्द्रागिरि नगरपालिका वडा नंं १० सतुगंल, बोसिगाउँ निवासी फोटोग्राफर संजय महर्जनले परिचयात्मक भिडियो बनाएका छ्न् ।

मार्च १ देखि १० दिन सम्म चल्ने प्रतियोगितामा नेपाल लगायत विभिन्न देशहरूबाट ४० जना प्रतिस्पर्धी सहभागी छन्, जहाँ नेपालको प्रतिनिधित्व गर्दै काठमाडौ बानेश्वरका ३७ वर्षिया राधिका के.सी. सहभागी भएकी छिन् ।

छायांकन तथा निर्देशनको जिम्मेवारी सम्हालेका महर्जनले प्रतिस्पर्धीको सुन्दरता र बौद्धिक क्षमताका साथ साथै नेपाल चिनाउने कला संस्कृति, सम्पदा र जीवनशैली समेटेर भिडियो तयार भएको बताए । 

विभिन्न देशका प्रतिनिधि भेला हुने र हजारौं दर्शकले हेर्ने भएकोले आफ्नो प्रस्तुतिसंगै नेपाल भ्रमणको इच्छा जगाउन भिडियो मार्फत जानकारी र निमन्त्रणा समेत गरेको प्रतियोगी के.सी. ले बताइन्।

भिडियोमा अझै नेपालीपन झल्काउन संगीत संयोजक किरण भुसालले पार्श्व धुनमा सारंगी, बाँसुरी, टुङ्गना लगायत नेपाली बाजाको प्रयोग गरेका छन् ।

फोटोग्राफी र सांगीतिक कार्यक्रम मार्फत नेपालको कला संस्कृति र संगित देश विदेशमा चिनाउन लागि परेका संजय महर्जनले केही समय अघि जापानका विभिन्न सहरमा नेपाल सम्बन्धी वृत्तचित्र प्रदर्शनी गरेका थिए । 

उनले ताकाहामास्थित कावारा संग्राहलयमा सो वृत्तचित्र सधैंका लागि सुरक्षित राख्ने र आगन्तुकको आग्रहमा प्रदर्शनीको लागि उपलब्ध गराएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *