चन्द्रागिरिमा जनताले फेरी पत्याएका ४ वडाध्यक्षहरू
थानकोट ।
मुलुक संघीयतामा रूपान्तरण भएपश्चातको स्थानीय तहमा भएको दोश्रो निर्वाचनको मतगणना तीव्र गतिमा अघि बढिरहेको छ । पछिल्लो विवरण अनुसार देशका ४ सय २८ स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ ।
१५ वटा वडा भएको चन्द्रागिरि नगरका १ देखी ११ वडा सम्मको अन्तिम मत परिणाम सार्वजनिक भइसक्दा १२, १३ र १४ नंं को गणना जारी छ । नेकपा एमालेबाट मेयर पदका उम्मेदवार उत्तम बहादुर राउतको गृह वडा चन्द्रागिरि १५ तीनथानाको मतगणना सुरू हुन बाँकी रहेको छ । यी चार वडाहरूमा १२३७४ खसेको छ ।
पछिल्लो जानकारी अनुसार चन्द्रागिरि नगरको मेयर पदमा नेपाली काँग्रेसले २ हजार बढी मतले अघि रहेको बताइएको छ भने उपमेयरमा नेकपा एमालेको एकल अग्रता मतगणनाको पहिलो दिन देखी नै जारी छ । उपमेयरमा उसले ११ हजार भन्दा बढी मत पाइसकेको छ ।
हालसम्म सार्वजनिक भएका चन्द्रागिरिका ११ वटा वडाको मत परिणाम अनुसार चन्द्रागिरिमा नेपाली काँग्रेसले ७, नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रले समान २-२ वडामा विजय प्राप्त गर्दा यस अघिका ४ जना वडाध्यक्षले पुनः वडाको नेतृत्व गर्न अवसर पाएका छन् ।
निवर्तमान वडाध्यक्षहरू चन्द्रागिरि १ का राजेन्द्र केसी तथा ८ का सन्तोष खड्का यसपटक पराजित भएका छन्। चन्द्रागिरि १२ र १३ मा यसअघिका वडाध्यक्षले पुनः दाबी गरिरहँदा ती वडाको मतगणना जारी छ ।
चन्द्रागिरि ३ थानकोटमा नेपालीका काँग्रेसका दुर्गालाल महर्जन दोहोरिएका छन् उनले नेकपा माओवादी केन्द्र देवकृष्ण महर्जन तथा नेकपा एमालेका नारायणबहादुर महर्जनलाई पछि पारे । चन्द्रागिरि वडा नं. ४ थानकोटमा नेपाली काँग्रेसकै कृष्णप्रसाद खड्गीले नेकपा एमालेका लेमन श्रेष्ठलाई पछि पार्दै पुनः पाँच वर्ष वडाको नेतृत्व गर्ने जनमत पाए । त्यस्तै, चन्द्रागिरि ६ महादेवस्थानको वडाध्यक्षमा नेकपा एमालेका सन्जय सिग्देल दोहोरिँदा नेपाली काँग्रेसका शान्त उदास करीब १०० मतले सिग्लेल भन्दा पछि परे । चन्द्रागिरि वडा नं. ७ महादेवस्थानमा नेपाली काँग्रेसका शम्भुकुमार केसी वडाध्यक्षमा दोहोरिँदा नेकपा एमालेका श्रीहरी थापा १२८ मतले पछि परे ।
नगरको नेतृत्वका लागि नेपाली काँग्रेसले निर्वतमान मेयर घनश्याम गिरीलाई दोहोर्याएको छ, पछिल्लो जानकारी अनुसार उनी निकटतम प्रतिद्वन्दी भन्दा करीब २ हजार मतले अघि छन् ।
चन्द्रागिरि नगरपालिकाको १५ वडाध्यक्ष पदमा ९३ जनाको आँखा (विस्तृत विवरणसहित)