ओराकल रे एकेडेमीको सप्ताहव्यापी खेलकुद महोत्सव शुरु
थानकोट।
चन्द्रागिरि नगरपालिका १३ पुरानो नैकापस्थित ओराकल रे एकेडेमीको दशाैं वार्षिक खेलकुद महोत्सव शुरु भएको छ ।
मंगलबार स्थानीय नैकाप फुटबल मैदानमा चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीले सो विद्यालयको दशाैं वार्षिक खेलकुद सप्ताहको उद्घाटन गर्नुभएको हो ।
ओराकल रे एकेडेमीको दशाैं वार्षिक खेलकुद महोत्सव उद्घाटन समारोहमा बोल्नुहुँदै मेयर गिरीले चन्द्रागिरि नगरपालिकाका विद्यालयहरूले आफ्ना विद्यार्थीहरूको रूची तथा चाहना अनुसार खेलकुद मेला आयोजना गर्नु सुखद रहेको धारणा राख्नुभयो ।
चन्द्रागिरि नगरपालिकाका संस्थागत तथा सामुदायिक विद्यालयहरुमा खेलकुदका कार्यक्रम आयोजना गर्न नगरले प्रोत्साहन गर्ने बताउनुहुँदै मेयर गिरीले नैकाप फुटबल मैदानको विकास र विस्तारमा नगर क्षेत्रका विद्यालयहरूले समेत चासो दिनुपर्ने धारणा राख्नुभयो ।
यसैगरी दशाैं वार्षिक खेलकुद महोत्सव उद्घाटन समारोहमा बोल्नुहुँदै विद्यालयका संस्थापक अध्यक्ष मनोजकुमार थापामगरले विगत दश वर्षदेखि विद्यालयले निरन्तर रूपमा खेल गतिविधिहरू समेत जारी राखेको बताउनुहुँदै विद्यार्थीहरूको प्रतिभा र सम्भावना उजागर गर्न विद्यालय प्रतिबद्ध रहेको धारणा राख्नुभयो ।
खेल गतिविधिहरूले सामुहिक प्रयासको भावना जागृत हुने बताउनुहुँदै अध्यक्ष थापामगरले खेलमा जित र हार भनेझै जीवनमा सुख र दुःख पनि स्वभाविक हुने सन्देश दिनका लागि खेलकुद महोत्सव आयोजना गरिएको बताउनुभयो । अध्यक्ष थापामगरले कक्षा कोठा बाहिरका व्यवहारिक ज्ञान अभिवृद्धि गराउनका लागि सो सप्ताहव्यापी खेल महोत्सव सुरु गरिएको धारणा राख्नुभएको थियो ।
कार्यक्रममा चन्द्रागिरि नगरपालिका वडा नं. १३ का वडाध्यक्ष श्रीकृष्ण खत्री, वडा नं. १४ का वडाध्यक्ष राजभाइ महर्जन, राष्ट्रिय बक्सिङ प्रशिक्षक एवं पूर्व खेलाडी दीपक महर्जन, चन्द्रागिरि नगरका जनप्रतिनिधिहरू, सो विद्यालयका विद्यार्थीहरू, शिक्षक शिक्षिका तथा अभिभावकहरू लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले विभिन्न गीत संगीतमा व्यक्तिगत तथा सामुहिक नृत्य प्रस्तुत गरेका थिए भने विभिन्न खेल काैशल समेत देखाएका थिए । खेल महोत्सव अन्तर्गतका प्रतियोगिताहरू नैकापस्थित विद्यालयको हाता भित्र हुन बताइएको छ ।