ब्राइट फ्यूचर माविमा अन्तर्राष्ट्रिय स्क्राबल प्रतियोगिता सुरु, १ सय बढी खेलाडीले २ दिन प्रतिस्पर्धा गर्ने
थानकोट ।
कोठे पदको परिस्कृत रुप स्क्राबलको अन्तर्राष्ट्रिय प्रतियोगिता चन्द्रागिरि नगरपालिका नैकापस्थित ब्राइट फ्यूचर माविमा सुरु भएको छ ।
प्रतियोगिताको बागमती प्रदेशका उद्योग वाणिज्य भुमी तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले एक समारोहका बीच उद्धाटन गरेका हुन् ।
सो क्रममा चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, चन्द्रागिरि नगरपालिका सामाजिक विकास संयोजक एवं वडा नं. १५ का वडाध्यक्ष घनश्याम लुँइटेल, चन्द्रागिरि नगरका विभिन्न विद्यालयका प्रधानाध्यापक, नेपाल स्क्राबल क्लबका अध्यक्ष केशव पराजुली, स्क्राबल क्लब काठमाडाैंका अध्यक्ष बुद्ध गाैतम, संयोजक मोहित कार्की लगायतको उपस्थिति रहेको ब्राइट फ्यूचर माविका अध्यक्ष मोहनकुमार कार्कीले जानकारी दिए ।
प्रतियोगितामा नेपाल, भारत, श्रीलंका र संयुक्त राज्य अमेरिकाका प्रतिस्पर्धीहरूले लगातार २ दिन १५ चरणसम्म स्पर्धा गर्नेछन् ।
यू-१६ उमेर समूहको मुख्य प्रतिस्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ६ हजार र ४ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्।
उद्धाटन समारोहमा बोल्दै ब्राइट फ्यूचरका प्रिन्सिपल दयाराम थापाले स्क्राबलले मानिसको चिन्तन क्षमता अभिवृद्धि गराउन मद्दत पुग्ने धारणा व्यक्त गरे।
प्रतियोगिता सञ्चालन गर्न करिब १० लाख ७० हजार रुपैयाँ खर्च हुने बताइएको छ। १५ चरणसम्म चल्ने प्रतियोगिताका खेलहरू नैकापस्थित ब्राइट फ्युचरमै हुनेछ।