यो वर्षको एसईई चैत पहिलो साताबाट हुने, नयाँ पाठ्यक्रम अनुसार परीक्षा, ३५ प्रतिशत अङ्क नल्याए फेल
थानकोट ।
संसद्को शिक्षा समितिमा छलफलको क्रममा रहेको ‘विद्यालय शिक्षा विधेयक २०८०’ र जाजरकोट तथा पश्चिम रुकुममा गएको भूकम्पपछि यो वर्ष समयमा नै माध्यमिक शिक्षा परीक्षा (एसईई) हुने/नहुने भन्नेमा चर्चा चलिरहेको छ । तर, राष्ट्रिय परीक्षा बोर्डले भने वार्षिक कार्यतालिका अनुसार एसईई चैतको पहिलो साताबाट हुने प्रष्ट पारेको हो ।
परीक्षा सर्ने वा दुई चरणमा हुने भन्ने अन्योलबिच बोर्डले वार्षिक कार्यतालिका अनुसार नै परीक्षा हुने बताएको छ । शिक्षा पत्रकार सञ्जाल (इजोन) ले आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार परीक्षा हुने बताए ।
‘यो वर्षको एसईई क्यालेन्डर अनुसार नै चैतको पहिलो साताबाट हुन्छ । माघको पहिलो सातामा रुटिन निकाल्छौँ । वार्षिक क्यालेन्डर अनुसार नै परीक्षा हुन्छ । यसमा कुनै शङ्का नगर्न सबैमा अनुरोध गर्दछौँ,’ अध्यक्ष शर्माले भने ।
संसद्मा विद्यालय शिक्षा विधेयक पास भएर कानुन नबनेसम्म एसईई हुने प्रष्ट पारेका हुन् । ‘विद्यालय शिक्षा विधेयक अहिले संसद्को शिक्षा समितिमा छलफलको क्रममा छ । उक्त विधेयक पास भएर संसद्मा गएर त्यहाँ पनि पास भएर ऐन बन्न लामो समय लाग्छ । त्यो बेलासम्म हामीले आफ्नो काम गरिरहन्छौँ,’ अध्यक्ष शर्माले भने ।
‘विद्यालय शिक्षा विधेयक र जाजरकोट पश्चिम–रुकुममा गएको भूकम्पका कारण परीक्षा हुँदैन । परीक्षा दुई चरणमा हुन्छ भन्ने चर्चा चलिरहेको रहेछ । यसमा हामी परीक्षा तथा नतिजाका लागि वार्षिक क्यालेन्डर बनाएका छौँ । त्यही अनुसार हुन्छ,’ उनले भने ।
यो वर्षदेखि सबै विषयमा ३५ प्रतिशत अनिवार्य ल्याउनै पर्ने प्रावधान राखिएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थीले मार्कसिट नपाउने बताए ।