काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले पदक जित्नु ठूलो कुरा नभई अरूलाई पनि आफूसँगै खेल्ने बनाउनु ठूलो कुरा रहेको बताएका छन्। मेयर बालेनले काठमाडौंको दशरथ रंगशालामा सो कुरा बताएका हुन्।
मंगलबार तीनदिने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ। प्रतियोगितामा करिब ३ हजार २ सय विद्यार्थीले सहभागी भएको काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले बताए।
उनले यो संख्यालाई आगामी दिनमा बढाएर १० हजारले भाग लिनसक्ने आकर्षण बिन्दु बनाउन विद्यार्थीलाई आग्रह गरे।
शाहले भने, ‘आजबाट शुरु हुने तीनदिने राष्ट्रपति रनिङ शिल्डमा अहिले ३ हजार २ सय जना विद्यार्थीले भाग लिनुभएको छ। आगामी दिनमा ५ हजार, १० हजारले भाग लिनुहोस्। मेडल ल्याउनु ठूलो कुरा होइन, अरूलाई पनि इन्स्पायर बनाएर आफूसँगै खेल्ने बनाउनु ठूलो कुरा हो।’
मेयर शाहले वर्ल्डकप र ओलम्पिक जित्नुस् भन्ने दबाब आफूले नदिने बरु आफूसँगै अरूलाई पनि खेल्न प्रेरित गर्न आग्रह गरे।