हवाई दुर्घटनाको जाँचबुझका लागि स्थायी निकाय गठन गर्न सुझाव

थानकोट।

गत माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनाको जाँचबुझ आयोगले हवाई दुर्घटनाको जाँचबुझ गर्ने स्थायी निकाय गठन गर्न सरकारलाई सुझाव दिएको छ । पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले अन्तर्राष्ट्रिय हवाई उड्डयनलाई गाइड गर्ने सिकागो महासन्धिको अनुसूची १३ बमोजिम दुर्घटनाको अनुसन्धान गर्न स्थायी निकाय गठन गर्नुपर्ने सुझाव दिएको हो ।

जाँचबुझ आयोगले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई जहाज दुर्घटनाको पूर्वप्रतिवेदन हस्तान्तरण गर्दै मानवीय र प्राविधिक स्रोतसाधनसहितको अनुसन्धान निकाय गठन गर्न सुझाएको हो । 

आठ महिना तीन दिन लगाएर तयार पारिएको आन्तरिकतर्फको सबैभन्दा ठुलो दुर्घटनाको यस प्रतिवेदनले दुर्घटना जाँचबुझ गर्ने स्थायी निकाय गठन भए पटके आयोग गठन गर्न नपर्ने देखाएको छ । प्रतिवेदनले मानवीय त्रुटिका कारण विमान दुर्घटना भएको निष्कर्ष निकाल्दै पाइलटले पालना गर्नुपर्ने नियमको पूर्ण पालना नगरेको, नयाँ विमानस्थल सञ्चालनपूर्व पाइलटलाई पर्याप्त प्रशिक्षण नदिइएकोलगायतका त्रुटि औँल्याएको छ ।

प्रतिवेदनले जहाज दुर्घटनाको मुख्य कारण चालकदललाई जहाजको अवस्थाबारे जानकारी नभएको, इन्डिकेटरले दिएको सङ्केतलाई ध्यान दिन नसकेको, जहाज बेस लेगमा रहेका बेला दुवै इन्जिनका प्रोपेलरहरू फेदरमा जाँदा जहाज (पावर नपुगेपछि) न्युटलमा गएको र जसले गर्दा अगाडि बढ्न नसकी ४९ सेकेन्डमा बायाँ ढल्केर भुइँमा खसेको औँल्याइएको छ । 

त्यस्तै प्रतिवेदनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पश्चिमतर्फको धावन मार्ग वानटुबाट भिएफआर (आँखाले हेरेर हुने) उडान तथा अवतरणको अनुमति दिनुअघि विस्तृत अध्ययन गरेर मात्रै अनुमति दिन आवश्यक रहेको, भिजुअल एप्रोच प्रोसिजर्स, धावन मार्गको पश्चिमतर्फबाट भिएफआर उडान तथा अवतरण गराउनुअघि जहाजको उचाइ र जहाजले अवतरण गर्न सक्ने अवस्थाबारे विस्तृत अध्ययन गरेर मात्रै अनुमति दिन सिफारिस गरेको छ ।

१२ वटा सुरक्षा सुझावसहितको यस प्रतिवेदनमा त्यो दिन काठमाडौँबाट पोखराको तेस्रो उडान रहेको र पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलको छोटो दुरी, नयाँ विमानस्थल पहाडले घेरिएको, ककपिटले गरेको सङ्केत चालक दलले थाहा नपाएको, सम्भावित दुर्घटनाको चुनौती मूल्याङ्कन तथा प्रमाणीकरण गर्न दृश्य गुणस्तर र चालक दलले ग्राउन्ड सिस्टमबारे पर्याप्त जानकारी नलिएको, ककपिटमा पाइलट र कोपाइलटबिच अनावश्यक कुरा बढी भएको र चालक दलको थकानलगायत समस्याका कारण दुर्घटना भएको निष्कर्ष निकालेको छ ।

प्रतिवेदनले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई जहाज निर्माता कम्पनीले तयार पारेको प्रारूप अनुसार जहाज तयारी अवस्था हुनुपर्ने, हवाई रुट प्रमाणीकरण गर्न, नयाँ तथा पुराना विमानस्थल सञ्चालनपूर्व प्राविधिक निरीक्षण गर्न र उड्डयन क्षेत्रमा कुनै परिवर्तन गर्नु प¥यो भने त्यसको असरबारे अग्रिम अध्ययन गर्न सुझाव दिएको छ ।

त्यस्तै प्रतिवेदनले यती एयरलाइन्सलाई प्राधिकरणले तोकेका निश्चित मापदण्ड पूरा गर्नुपर्ने, नयाँ विमानस्थलमा उडान गर्नुपूर्व पाइलटलाई प्रशिक्षण दिनुपर्ने, प्राधिकरणको सुरक्षा विभागको नियमनकारी भूमिका सिआरइम डिसिप्लेन अनुसार उडानपूर्व हवाई सुरक्षाका विषयमा चेकजाँच तथा निरीक्षण गर्नुपर्ने, पाइलटलाई ग्राउन्ड क्लास दिनुपर्ने र प्राविधिक तथा मानवीय पक्षलाई ध्यानमा राखेर विस्तृत अध्ययन गर्न सुझाएको छ ।

यसअघि गत वर्ष फागुन ४ गते सार्वजनिक भएको प्रारम्भिक प्रतिवेदन अनुसार दायाँतर्फ सामान्यतया कोपाइलट बस्ने भए पनि विमानको बायाँतर्फको सिट (जुन मुख्य कमान्ड दिने ठाउँ हो) मा क्याप्टेन अञ्जु खतिवडा बसेको र प्रशिक्षक पाइलट कमल केसी दायाँतर्फ बसेको बताइएको थियो । 

जहाज दुर्घटना हुनुपूर्व चालक दलले सुरुमा विमानस्थलको पूर्वतर्फ (थ्री जिरो) बाट अवतरणको अनुमति मागेको र विमानस्थलको हवाई ट्राफिक कन्ट्रोल (एटिसी) ले अवतरणका लागि धावन मार्ग क्लियर रहेको निर्देशन दिएको थियो तर पछि चालक दलले पहिलो निर्णयलाई बदल्दै धावन मार्गको पश्चिम (वानटु) बाट अवतरणको अनुमति मागेकाले पश्चिमतर्फबाट हुने उडानमा कडिकडाइ गर्न आवश्यक रहेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख थियो । लगत्तै प्राधिकरणले पश्चितर्फबाट हुने उडान अवतरणमा रोक लगाएको थियो ।

जाँचबुझ आयोगले फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण र विमान निर्माता कम्पनी, जहाजको पखेटा बनाउने कम्पनीसँगको प्राविधिक सहयोगमा अनुसन्धान गरेको जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *