चन्द्रागिरि नगरमा आयोजित यःमरि प्रतियोगितामा कृष्णदेवी महर्जन प्रथम
थानकोट ।
२०औं ज्यापू दिवस एवं यःमरि पुन्हीका अवसरमा चन्द्रागिरि नगरपालिका-०५ महादेवस्थान किपुल्चामा आयोजित यःमरि बनाउने प्रतियोगितामा कृष्णदेवी महर्जनले बनाएको यःमरिले पहिलो स्थान प्राप्त गरेको छ ।
मंगलबार स्थानीय लाछि टोलमा किपुल्चा नेवाः खलले आयोजना गरेको प्रतियोगितामा रत्नमाया महर्जनले बनाएको यःमरिले दोश्रो स्थान हासिल गर्दा नानीदेवी महर्जनले तेस्रो स्थान प्राप्त गरिन् । प्रतियोगितामा पहिलो, दोश्रो र तेस्रो स्थान हासिल गर्ने प्रतियोगिहरूले क्रमश ५ हजार, ४ हजार र तीन हजार प्रोत्साहन रकम प्राप्त गरेको किपुल्चा नेवाः खलका अध्यक्ष बुद्धरत्न नकर्मीले जानकारी दिए । अन्य चार जना सहभागीहरूले सान्त्वना पुरस्कार स्वरुप नगद १ हजार रूपैयाँ र प्रमाण प्राप्त गरे ।
यसअघि चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीले प्रतियोगिताको उद्घाटन गरेका थिए । चन्द्रागिरि नगरका उपमेयर बसन्ती श्रेष्ठसहित विभिन्न वडाका वडाध्यक्षसहित जनप्रतिनिधिहरू, विभिन्न नेवाः खल तथा समुहका प्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रममा धिमे बाजा प्रदर्शनी गरिएको थियो ।
ज्यापू दिवस एवं यःमरि पुन्हीका अवसरमा किपुल्चा नेवाः खलले विगत तीन वर्षदेखी यःमरि बनाउने प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।
यःमरि पुन्हीका रुपमा स्थापित धान्य पूर्णिमा नेवारी समुदायको एक प्रमुख चाड हो ।
यस अवसरमा ज्यापू महागुठीले विभिन्न उत्सव, गुठी तथा पूजाआजा गर्ने परम्परा छ । उत्सवमा धानको कोठी, भकारी राखी पूजा गरेर यःमरि चढाउने र त्यसलाई प्रसादका रुपमा खाने-खुवाउने चलन छ ।
नयाँ चामलको पिठोभित्र चाकु र तिल हालेर यःमरि बनाइन्छ । यसलाई गणेश र कुमारको प्रतीकको रुपमा पनि पूजा गरिन्छ । यस दिनलाई ज्यापु दिवसका रुपमा समेत मनाउने गरिन्छ ।
०६१ सालमा तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले यसलाई राष्ट्रिय दिवसको मान्यता दिएको थियो ।