चन्द्रागिरि नगरबासीहरुले मेट्रो रक्तसंचार सेवाबाट समेत नि:शुल्क रगत प्राप्त गर्न सक्ने
थानकोट ।
चन्द्रागिरि नगरपालिका र महाराजगञ्जस्थित मेट्रो रक्त संचार सेवाबीच चन्द्रागिरि नगरपालिकामा स्थायी बसाेबास गरिरहेका मानिसहरूलाई आवश्यकता परेको बखत नि:शुल्क रगत उपलब्ध गराउने सम्बन्धि दुई पक्षीय सम्झौता भएको छ।
यस अघि चन्द्रागिरि नगरपालिका र नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त संचार सेवाबीच नगरबासीका लागि नि:शुल्क रगत उपलब्ध गराउने सम्बन्धि सम्झौता कार्यान्वयमा आइसकेको छ ।
बुधबार मेट्रो रक्त संचार सेवासँगको सम्झौता कार्यक्रम पश्चात नगरप्रमुख घनश्याम गिरीले नगरबासीहरुलाई आवश्यकता परेको अवस्थामा रक्तसेवा प्राप्त गर्न सहजीकरण हुने अपेक्षा लिएको धारणा राख्नुभयो ।
मेट्राेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष दाहालले साे दुई पक्षीय सम्झाैतामा हस्ताक्षर गर्नुभएको बताइएको छ ।
नगरप्रमुख गिरीले नगरपालिकाले निकट भविष्यमा संचालन गर्न लागेको डायलासीस सेवामा रक्तसंचार सम्झौताले थप सहयोग पुग्न सक्ने विचार राख्नुभयो ।
चन्द्रागिरि नगरपालिका प्राथमिक अस्पताल परिसरमा २५ शैयाको अर्काे अस्पताल भवन निर्माण शुरु भैसकेको र उक्त अस्पतालको निर्माण पश्चात मृगौला राेग पिडित नगरबासीहरुको लागि डायलासीस सेवा शुरु गरिने बताइएको छ ।
मेट्रो रक्त संचार सेवाबाट सो सेवा लिन चन्द्रागिरि नगरपालिकामा स्थायी बसोबास गरिरहेको प्रमाणित सरकारी कागजातको छायाँप्रतिमा बिरामी वा बिरामीका आफन्तले प्रमाणित गरेको हुनुपर्ने प्रावधान राखिएको र सो को विवरण नियमित रूपमा मेट्रोले चन्द्रागिरि नगरमा उपलब्ध गराउन पर्नेछ ।
चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रमा मेट्रो रक्त सञ्चार सेवासँग समन्वय गरि रक्तदान शिविर सञ्चालन गर्दा प्रति रक्तदाता २ सय रूपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ ।
मेट्रो रक्त सञ्चार केन्द्रले चन्द्रागिरि नगरमा वर्षमा कम्तीमा २ वटा रक्त संकलन शिविर सञ्चालन गर्ने पनि समेत प्रतिबद्धता जनाएको बताइएको छ ।
रक्त संचार सेवासँग सम्बन्धित सम्झाैता पत्रमा हस्ताक्षर गरेपछि सो केन्द्रका प्रमुख कार्यकारी अधिकृत सन्तोष दाहालले रक्तसंचार सेवामा उपलब्ध माैज्दात रगत प्राथमिकतासाथ चन्द्रागिरि नगरपालिकाका लाभग्राहीलाई उपलब्ध प्रतिबद्धता जनाउनुभएको छ ।
सो सम्झाैताको म्याद २०८१ असार मसान्तसम्म कायम रहने छ । यद्यपी दुई पक्षीय समझदारीमा समयावधि थपघट हुनसक्ने छ ।