मुम्बईमा हुने अन्तरार्ष्ट्रिय कराँते च्याम्पियनसीपमा धनबहादुर स्मृति प्रतिष्ठानका ९ खेलाडी

Thankot Times

थानकोट । 

पुस १ गतेबाट भारतको मुम्बईमा सुरु हुने अन्तरार्ष्ट्रिय कराँते च्याम्पियनसीपमा चन्द्रागिरि नगरपालिका-१० बोसिगाउँस्थित धनबहादुर स्मृति प्रतिष्ठानका ९ जना प्रशिक्षार्थीहरूले सहभागिता जनाउने भएका छन् । 

ग्लोबल सिोरियो कराँते महासंघ भारतको तत्वधानमा हुने सो प्रतियोगितामा धन बहादुर स्मृति प्रतिष्ठानका ममता शाहशंकर, एलिना थिङ, अस्मिता थापा मगर, अन्जली महर्जन, राकेश मानन्धर, सुलभ श्रेष्ठ, सन्दीप राई, विजय कुमार पोदार र सरोज लामाले सहभागिता जनाउने प्रतिष्ठानका अध्यक्ष संघरत्न महर्जनले जानकारी दिनुभयो । 

प्रतियोगितामा सीताराम लामाले व्यवस्थापक र गुन्जय सिंहले प्रशिक्षकको भूमिका निर्वाह गर्ने बताइएको छ । 

यसैबीच अन्तराष्ट्रिय कराँते च्याम्पियनसीपमा सहभागिता जनाउने खेलाडी, प्रशिक्षक तथा अफिसियललाई धनबहादुर स्मृति प्रतिष्ठानले मंगलबार बिदाई गरेको छ । 

प्रतिष्ठानको प्रशिक्षण हलमा संयोजित कार्यक्रममा चन्द्रागिरि नगरपालिका वडा नं. १० सतुगंलका वडाध्यक्ष शिवकुमार महर्जन, कराँतेका राष्ट्रिय प्रशिक्षक वीरकृष्ण शाहीलगायत प्रतिष्ठानका अन्य पदाधिकारीहरू तथा प्रशिक्षार्थीहरूको उपस्थितिका बीच खेलाडी तथा अफिसियलहरूको बिदाई गरिएको हो । 

सो क्रममा वडाध्यक्ष महर्जनले प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रमहरूमा वडासँग समन्वय हुन सके सक्दो सहयोग हुने धारणा राख्नुहुँदै वडा कार्यालय र प्रतिष्ठानले वर्षमा कम्तीमा २ वटा कार्यक्रम आयोजना गर्न प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

यसै गरी प्रतिष्ठानका अध्यक्ष संघरत्न महर्जनले खेलाडीहरूले पर्याप्त पूर्वाधार तथा व्यवस्थापनको नभइरहेको अवस्थामा पनि विभिन्न स्पर्धाहरूमा पदक चुम्न सक्नु आफैंमा गाैरवको विषय भएको बताउनुहुँदै प्रतिष्ठान खेल काैशल निखार्ने स्थान मात्रै भएकोले खेलाडीहरूको लगनशीलता बिना सफलता हासिल हुन नसक्ने धारणा राख्नुभयो । 

सो प्रतिष्ठानबाट गत साता काठमाडाैं सम्पन्न साताैं साफ कराँते च्याम्पियनसीपमा सहभागी ६ मध्ये चार खेलाडीले स्वर्ण पदक तथा २ जना खेलाडीले रजत पदक प्राप्त गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *