चन्द्रागिरि नगरमा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु, चार खेलमा १ हजार ३ सय ९२ प्रतिस्पर्धी
थानकोट ।
चन्द्रागिरि नगरपालिकामा बुधबारबाट चाैथो चौथो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।
नैकापस्थित नैकाप फुटबल मैदानमा नगरप्रमुख घनश्याम गिरीले बेलुन उडाएर प्रतियोगिताको उद्घाटन गरेका हुन् । सो क्रममा विद्यार्थीहरूले मार्चपास गरेका थिए ।
सो क्रममा चन्द्रागिरि नगरका उपमेयर बसन्ती श्रेष्ठ वडाध्यक्षहरू तथा जनप्रतिनिधिहरू, नगरका प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखाका कर्मचारीलगायत नगरका विभिन्न विद्यालयका प्रतिनिधि, विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो ।
तीन दिने प्रतियोगितामा चन्द्रागिरि नगरका ३७ विद्यालयका १ हजार ३ सय ९२ जना विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा भलिबल, कबड्डी, मार्सल आर्टस् र ट्य्राक एण्ड फिल्ड (एथ्लेटिक्स) का विभिन्न विधामा स्पर्धा हुनेछ ।
पदक विजेता विद्यार्थीहरूलाई चन्द्रागिरि नगरपालिकाले प्रमाणपत्र तथा पदक प्रदान गर्नेछ भने विधागत विजयी विद्यालयलाई कप तथा सबै विधामा हासिल गरेको नतिजाका आधारमा सर्वोत्कृष्ठ विद्यालयलाई रनिङ्ग शिल्ड, कप र दोश्रो तथा तेस्रो सर्वोत्कृष्ठ विद्यालयलाई कप प्रदान गरिने चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।
प्रतियोगताको भलिबल खेल नैकापस्थित न्यू डायमण्ड यूथ स्पोर्टस् क्लबमा, कबड्डी र मार्सल आर्टस् विधाका खेलहरू सतुगंलस्थित एआई स्कुल तथा ट्य्राक एण्ड फिल्डका खेलहरू नैकाप फुटबल मैदानमा हुने बताइएको छ ।
प्रतियोगिताको पहिलो दिन बुधबार एथ्लेटिक्स र भलिबल खेलका स्पर्धा हुनेछन्।