चन्द्रागिरि नगर चाैथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा ३७ विद्यालयका १ हजार ३ सय ९२ विद्यार्थी
थानकोट ।
चन्द्रागिरि नगरपालिकामा मंसिर २० गते बुधबारबाट सुरु हुने चाैथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा ३७ विद्यालयका १ हजार ३ सय ९२ जना विद्यार्थीले सहभागिता जनाउने भएका छन् ।
प्रतियोगितामा चन्द्रागिरि नगर क्षेत्रका ३७ विद्यालयका ८ सय १८ जना छात्र तथा ५ सय ८४ जना छात्रा सहभागी हुने चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।
मेयर गिरीका अनुसार प्रतियोगिताको उद्घाटन चन्द्रागिरि नगरपालिका नैकापस्थित नैकाप फुटबल मैदानमा मंसिर २० गते बिहान १० बजे हुनेछ । तीन दिने प्रतियोगताको भलिबल खेल नैकापस्थित न्यू डायमण्ड यूथ स्पोर्टस् क्लबमा, कबड्डी र मार्सल आर्टस् विधाका खेलहरू सतुगंलस्थित एआई स्कुल तथा ट्य्राक एण्ड फिल्डका खेलहरू नैकाप फुटबल मैदानमा हुने बताइएको छ ।
विजेता विद्यार्थीहरूलाई प्रमाणपत्र तथा पदक प्रदान प्रतियोगिताको विधागत विजयी विद्यालयलाई कप तथा सबै विधामा हासिल गरेको नतिजाका आधारमा सर्वोत्कृष्ठ विद्यालयलाई रनिङ्ग शिल्ड, कप र दोश्रो तथा तेस्रो सर्वोत्कृष्ठ विद्यालयलाई कप प्रदान गरिने नगरप्रमुख गिरीले जानकारी दिए । प्रतियोगिताका लागि करिब ११ लाख रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
चाैथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै नगरउपप्रमुख बसन्ती श्रेष्ठले विद्यार्थीको पढाइ तथा खेल रुचीको पहिचानका लागि राज्यले अवलम्बन गरेको नीति अनुरुप प्रतियोगिता सुरु हुन लागेको धारणा राखिन् ।
यसैगरी वडाध्यक्ष तथा नगरप्रवक्ता कृष्णप्रसाद खड्गीले विद्यालय स्तरबाट नै विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गरी भविष्य निर्माणका लागि सो खेलकुद प्रतियोगिता पहिलो आधार हुने धारणा राख्दै विद्यालयले कुन विद्यार्थीको चाहना कुन खेलमा छ भनेर चासो दिनुपर्नेमा जोड दिए । प्रतियोगिता सार्थकता तब हुन्छ जब चन्द्रागिरि नगरका विद्यालयका खेलाडीहरूले जिल्ला, प्रदेश, राष्ट्र तथा अन्तराष्ट्रिय जगतमा देशको शीर उचो हुन्छ भन्दै प्रवक्ता खड्गीले विद्यालयस्तरीय प्रतियोगिताका गतिविधि समावेश गर्न स्थानीय सञ्चारमाध्यमहरूले उचित स्थान दिनुपर्ने बताए ।
प्रतियोगिता मंसिरि २२ गते सकिने बताइएको छ । प्रतियोगितामा गत वर्ष करिब ५ सय विद्यार्थीले सहभागिता जनाएको मा यसपटक सो संख्या करिब तेब्बरले बढ्दा प्रतियोगिताको दिन लम्बिने सक्ने सम्भावना पनि औंल्याइएको छ ।