नैकापमा स्थानान्तरण हुने चरणमा सान कलेज, भ्रामक समाचारप्रति विश्वास नगर्न अपील
थानकोट ।
सान इन्टरनेशनल कलेजले केही समययता विभिन्न सञ्चार माध्यमहरूमा भ्रमपूर्ण समाचार प्रकाशित भएकोमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
केही अनलाइनहरूमा घर भाडा नतिरी कलेज भागेको भन्ने आशयको समाचारको खण्डन गर्दै कलेजले सम्बन्धित घरधनीलाई कलेजबाट तिर्नुपर्ने हालसम्मको घर भाडा तथा वडा कार्यालयमा बुझाउनुपर्ने कर समेत सम्पूर्ण रूपमा चुक्ता भइसकेको जनाउँदै ती रकमको हिसाब किताब सुरक्षित रहेको जनाएको हो । क्याम्पस स्थानान्तरणको प्रकृया जारी रहेकोले सम्बन्धित निकायमा सो को जानकारी गराउने क्रम जारी रहेको जनाउँदै क्याम्पसले त्यस्ता भ्रमपूर्ण समाचारमा कुनै सत्यता नभएको प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ ।
यसै बीच, काठमाडाैंको गैह्रीधारामा सञ्चालनमा रहेको सान इन्टरनेशनल कलेज चन्द्रागिरि नगरपालिकामा स्थानान्तरण हुने भएको छ ।
सम्पूर्ण प्रकृया पूरा गरी क्याम्पसका सबै शैक्षिक तथा प्रशासनिक गतिविधि केही समयमै चन्द्रागिरि नगरबाट सुरु हुने बताइएको छ ।
सो कलेज चन्द्रागिरि नगरपालिका १४ नयाँ नैकापस्थित ओम समाज दन्त अस्पताल भवनमा सञ्चालन हुनेछ ।