पाटन अस्पतालमा दुई जनाको मृत्यु प्रकरणपछि चिकित्सकद्वारा सेवा ठप्प

Thankot Times

थानकोट ।

दुई जनाको मृत्यु भएको घटनापछि उत्पन्न तनावका कारण ललितपुरको लगनखेलस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल)मा कार्यरत चिकित्सकहरूले आकस्मिकबाहेकका सबै सेवा ठप्प बनाएका छन् ।

अस्पतालमा कार्यरत चिकित्सकले आफूहरुमाथि कुटपिट भएको भन्दै त्यसको विरोधमा मंगलबारदेखि चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आकस्मिकबाहेकका सबै सेवा ठप्प बनाएका हुन् ।

चिकित्सकमाथि कुटपिट, गालीगलौज, दुर्व्यवहार र ज्यान मार्ने धम्की समेत दिएर स्वास्थ्य सेवा प्रवाहमा दखल पुर्‍याउने गतिविधि भएको अस्पतालको दाबी छ ।

स्वास्थ्यकर्मीमाथि आक्रमण भएको २ दिन बितिसक्दा पनि दोषीलाई कानुनी कारबाही नभएको उनीहरूको भनाइ छ ।

कार्तिक १८ गते साँझ ज्येष्ठ नागरिक वार्डमा बिरामीको मृत्यु भएको विषयलाई लिएर दुई चिकित्सकमाथि आक्रमण भएको बताइएको छ ।

दुई जना ज्येष्ठ नागरिकलाई स्वास्थ्यकर्मीले सुईमार्फत औषधि दिएपछि तत्काल बिरामीको मृत्यु भएको मृतकका आफन्तको आरोप छ ।

अस्पतालका निर्देशक डाक्टर रवि शाक्यका अनुसार मृत्यु भएका ती दुई जनालाई सेफ्ट्रियाक्सोन नामक एन्टीबायोटिक्स र रगत पातलो गर्ने औषधि  हेपारिन दिइएको थियो । सोही औषधि अन्य बिरामीलाई पनि चलाइएको थियो । आफन्तले सोही औषधिका कारण मृत्यु भएको बताएपछि त्यस औषधिका बारे अनुसन्धान भइरहेको उनले बताए ।

यदि उपचारका क्रममा अस्पतालबाट कमजोरी पुष्टि भएमा कानुन अनुसार कारबाही भोग्न अस्पताल तयार रहेको उनको भनाइ छ ।

यसैबिच नेपाल चिकित्सक संघले पाटन अस्पतालमा ज्येष्ठ नागरिकहरूको मृत्युबारे सत्य तथ्य  छानबिन गर्न माग गरेको छ । संघले ज्येष्ठ नागरिकको मृत्युपछि स्वास्थ्यकर्मीमाथि भएको कुटपिट, गालीगलौज र ज्यान मार्ने धम्कीप्रति आफ्नो ध्यानाकर्षण भएको पनि जनाएको छ ।

यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले समेत घटनाका विषयमा पाटन अस्पतालसँग विवरण माग गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *