छैठाैं नैकाप गोल्डकपः डिफेन्डिङ च्याम्पियन तारकेश्वरको पोष्टमा क्लीन भीजनको ४ गोल

Thankot Times

थानकोट ।

शनिबारबाट चन्द्रागिरि नगरकै सर्वाधिक पुरस्कार राशिको नैकाप गोल्डकप फुटबल प्रतियोगिताको छैठाैं संस्करण सुरु भएको छ ।

चन्द्रागिरि स्पोर्ट्स एकेडेमीको आयोजनामा चन्द्रागिरि नगरपालिका-१४ स्थित नैकाप फुटबल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा साबिक विजेता नागार्जुन नगरपालिकाको तारकेश्वर युथ क्लबले नमिठो पराजय भोगेको छ ।

तारकेश्वरले चन्द्रागिरि नगरपालिका ०५ महादेवस्थानको क्लीन भीजन यूनिटिसँग ४-० को एकपक्षीय हार व्यहोर्यो । हारसँगै तारकेश्वर प्रतियोगिताबाट नै बाहिरिएको छ ।

खेलको पहिलो हाफमा नै ३-० को अग्रता लिएको क्लीन भीजनले दोश्रो हाफमा १ गोल थपेको थियो ।
 क्लीन भीजनका लागि साहिल केसीले दुई तथा राजिव लोप्छान तथा राजु तामाङले समान १-१ गोल गरेका थिए । साहिल खेलको उत्कृष्ठ खेलाडी चुनिए ।

यसअघि चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । सो क्रममा चन्द्रागिरि नगरका विभिन्न वडाका जनप्रतिनिधिहरू, विभिन्न विद्यालयका विद्यार्थीहरू, लगायत स्थानीयहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कार्तिक २५ गते शनिबार उपाधी छिनोफानो हुने प्रतियोगितामा कुल २७ टोलीले सहभागिता जनाउँदैछ । जसमा पहिलो पटक नेपाली सेनाको क्लबले सहभागिता जनाउँदैछन् ।

प्रतियोगिताको विजेताले पाँच लाख रूपैयाँ नगद पुरस्कार पाउँदा प्रतियोगिताको उपविजेता हुनेले दुई लाख पचास हजार रूपैयाँ नगद पुरस्कार पाउने आयोजक चन्द्रागिरि स्पोर्ट्स एकेडेमीका अध्यक्ष कृष्णहरि बस्नेतले जानकारी दिनुभयो ।

प्रतियोगिताका दुई सेमिफाईनलिष्ट टोलीले ५०-५० हजार रूपैयाँ प्रोत्साहन रकम हात पार्नेछन् ।

यसैगरी व्यक्तिगत विधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, डिफेन्डर, गोलरक्षक, प्रशिक्षक र उच्च गोलकर्ताले जनही १५,००० रूपैयाँ नगद पुरस्कार हात पार्नेछन्।

नकआउट शैलीमा खेलाइने प्रतियोगिताका हरेक खेलका उत्कृष्ठ खेलाडीले २ हजार रूपैयाँ नगद पुरस्कार तथा ट्रफी पाउनेछन् ।

गत वर्षबाट प्रदान गर्न सुरु गरिएको चन्द्रागिरि स्पोर्टस् अवार्डले यसपटक पनि निरन्तरता पाउने भएको छ ।

चन्द्रागिरि नगर क्षेत्रका विभिन्न खेलमा सक्रिय खेलाडी वा प्रशिक्षकमध्ये सर्वाधिक सफल खेलाडी वा योगदानकर्ता प्रशिक्षकलाई प्रदान गरिने सो अवार्डको पुरस्कार राशी ५० हजार रूपैयाँ रहनेछ । गत संस्करणमा भलिबल स्टार प्रतिभा मालीले यो सम्मान प्राप्त गरेकी थिइन् ।

पाँचाै संस्करणमा ब्लुबेल एफसीलाई स्तब्ध बनाउँदै तारकेश्वर युथ क्लबले उपाधी चुमेको थियो । तारकेश्वर चाैथों संस्करणको पनि डिफेन्डिङ च्याम्पियन थियो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *