ब्राइट फ्यूचर स्कुलमा ड्युक अफ इडिनवर्ग अवार्ड कार्यक्रम लागू

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका नैकापस्थित ब्राइट फ्यूचर स्कुलमा पनि ड्युक अफ इडिनवर्ग अन्तरार्ष्ट्रिय अवार्ड कार्यक्रम लागू हुने भएको छ ।

यो अवार्ड कार्यक्रमअन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले चुनौतिपूर्ण यात्राहरु गर्नुपर्ने, केही दिनका लागि जंगलमै बिताउनुपर्ने, आफ्ना लागि आफैं खाना पकाउनुपर्ने, विकट क्षेत्रमा रही जीवन जिउन गर्नुपर्ने संघर्ष र चुनाैतीका विभिन्न पक्षहरूमा व्यवहारिक रूपमा अभ्यास गर्नुपर्ने हुन्छ ।

ललितपुरको पाटन ढोकास्थित रातो बङ्गला स्कुलमा आइतबार सो अवार्ड संयोजकहरूका लागि आयोजित अनलाइन र भौतिक तालिम कार्यक्रमपछि ब्राइट फ्यूचरमा सो कार्यक्रम लागु भएको बताइएको छ । हाल नेपालका ७० भन्दा धेरै विद्यालयमा यो अवार्ड कार्यक्रम लागु भइसकेको ब्राइट फ्यूचर माविका अध्यक्ष मोहनकुमार कार्कीले बताए । चन्द्रागिरि नगर क्षेत्रको जेसीस स्कुलमा यो अवार्ड कार्यक्रम लागु भइसकेको छ ।

आइतबारको कार्यक्रममा देशका विभिन्न स्थानका २० विद्यालयका ३१ जना ड्युक अफ इडिनवर्ग अन्तरार्ष्ट्रिय अवार्ड कार्यक्रम संयोजकहरूको सहभागिता रहेको थियो ।

यो कार्यक्रम टेलिभिजनमा देखिने म्यान इन वाइल्ड कार्यक्रमकै संक्षिप्त प्रारूप भएको सो विद्यालयका संयोजक मोहित कार्कीले बताए ।

सो अवार्ड कार्यक्रमअन्तर्गत विद्यालयका १४ वर्ष देखि २४ वर्षसम्मका विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रममा सहभागी गराइनेछ । त्यसपछि विद्यार्थीहरुले आफुले निश्चित समयसम्ममा आफुलाई मनपर्ने क्रियाकलाप सम्पन्न गर्ने र त्यसबाट सिकाइ गर्ने समयसीमा दिइनेछ ।

‘यस कार्यक्रम अन्तर्गत विद्यार्थीहरुले कास्य, रजत र स्वर्ण पदकका लागि आफुले आफैसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ’ ब्राइट फ्यूचर माविका शैक्षिक निर्देशक रवि पाण्डेले भने ।

यो कार्यक्रम लागू भएसँगै विद्यार्थी र अभिभावकमा कार्यक्रमप्रति उत्सुकता बढेको विद्यालयका प्रधानाध्यापक दयाराम थापाले बताए ।

सो कार्यक्रमको कार्यान्वयनबाट विद्यार्थीहरुमा विषम परिस्थितिमा पनि मावनीय गतिविधि गरी जीवन जिउने क्षमता वृद्धि हुने अपेक्षा गरिएको  ड्युक अफ इडिनवर्ग अवार्डका नेपालका प्रमूख देवराज घिमिरेले बताए ।

ब्राइट फ्यूचरमा चाडपर्व बिदा पछि यो कार्यक्रम कार्यान्वयनमा जाने विद्यालयले जनाएको छ ।

बेलायत तथा वेल्स गणराज्यमा मुख्यालय भएको यस कार्यक्रम विश्वका विभिन्न १३० वटा मुलुकमा लागु भइसकेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *